विप्लब बन्दः १२ जना प्रहरीको नियन्त्रणमा



चितवन ।
विप्लव समूहले आब्हान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ । चितवनबाट लामो दुरीका सवारीसाधन संचालनमा आउन सकेनन् भने स्थानिय रुटका सवारीसाधन सामान्य रुपमा संचालनमा आए । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेपछि लामो दूरीका गाडी सञ्चालनमा प्रभाव परेको हो ।

बन्द आह्वानका कारण चितवनका अधिकांस शैक्षिक संस्थामा भने बन्दको प्रभाव परेको छ । बिहानै खुल्ने विद्यालय तथा क्याम्पसमा पढाइ हुन सकेको छैन । यसले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

नवलपुरको गैंडाकोटमा पराल बोकेको ट्रकमा आगजनी,परालमा क्षति

नवलपुरको गैंडाकोटमा दुईवटा ट्रकामा मंगलबार बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आगजनीबाट ट्रकमा सामान्य क्षति पुगेकोे छ भने पराल जलेर नष्ट भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आगजनी गरेकाले उक्त का त्यही पार्टीका कार्यकर्ताहरुले गरेको आशंका प्रहरीले गरेको छ ।

शंकास्पद वस्तु सेनाद्धारा डिस्पोज

भरतपुरको रिजाल चोकमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरिएको छ । बिहान ९ः ३० बजे भेटिको शंकास्पद बस्तmुलाई ११ः २५ मा डिस्पोज गरिएको हो । विप्लव समूहले बन्द आब्हान गरेको दिन देशका विभिन्न क्षेत्रमा बम र शंकास्पद बस्तु भेटिएका छन् । थर्मसको बट्टामा भेटिएको शंकास्पद वस्तु बम नभएर सामान्य विस्फोटक वस्तुमात्र भएको सेनाले जनाएको छ ।

विभिन्न स्थानबाट १२ जना प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख शुसिल सिंह राठौरका अनुसार सोमवार राती १२ बजेदेखी विहान ४ बजेको विचमा संकास्पद गतिविधीमा संलग्न उनिहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले केहीलाई ढुङ्गा,लाइट सहित समातेको राठौरले बताए ।

विप्लव माओवादीले आब्हान गरेको बन्दमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा चेकजाँचलाई कडा पारेको उनले बताए । जिल्लाका मुख्य नाकाहरुमा प्रहरी परिचालन गरि कडाइका साथ चेकजाँचका साथै निगरानी गरिएको प्रमुख राठौरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्