ठाउँ अभावले तरकारी पसले बिस्थापित, तरकारी पसलेको टहरा खेलाडीले भत्काइदिए



गणेश घिमिरे, इलाम ।
इलाम बजारमा तरकारी पसल थाप्दै आएका तरकारी पसलेहरू बिस्थापित भएका छन् । तरकारी पसल राख्ने ठाउँ नपाएपछि उनीहरु बिस्थापित बनेका हुन् । जस कारण यहाँका सयौं उपभोक्ता तरकारी किन्नबाट वञ्चित भएका छन् । चोक बजार छेउमा रहेको साविकको कृषि बजारमा इलाम नगरपालिकाले व्यपारिक प्रयोजनको सिटी मार्ट भवन बनाउने तयारी गरेपछि करिब सयको संख्याका तरकारी पसले विस्थापित भएका छन् ।
नगरपालिकाले नयाँ भवन बनाउने भएपनि नगरले आफूहरूलाई वैकल्पिक स्थान नदिएको पसलेको भनाइ छ । इलाम नगरपालिकाले सुनगाभा चोकछेउको सानो टुँडिखेलमा तरकारी बजार सार्न लगाएको थियो । तर पसल सरेको तीन दिन नबित्दै खेलाडीले पसलेहरूले तरकारी बेच्न बनाएका टहरा भत्काइ दिएका छन् । जिल्ला खेलकुद परिसरमा रहेको सानो टुडिखेलमा मार्सल आर्ट सम्बन्धिका खेलका प्रशिक्षण खेलाडिले लिँदै आएका थिए । प्रशिक्षण गर्ने ठाउँमा बिना जानकारी रातारात तरकारी पसल सारीएको र आफूहरु प्रशिक्षण लिनबाट बञ्चित भएको भन्दै खेलाडीहरुले तरकारी बेच्न बनाइएका टहरा सबै भत्काइदिएका हुन् । खेलाडीले टहरा भत्काएपछि खेलाडी र तरकारी पसलेबीचको विवादले उग्ररूप लिएको छ । आफूहरूले प्रयोग गरिरहेको ठाउँमा बिना जानकारी तरकारी पसल सारिएको भन्दै खेलाडीले मंगलबार बिहानै तरकारी पसलेको टहरा भत्काइदिएका हुन् ।
नगरले जिल्ला खेलकुद विकास समितिसँग समन्वय नगरी तरकारी पसल सार्न लगाएकोे खेलाडी र खेल पदाधिकारीको गुनासो छ । गत शनिबार तरकारी पसलेहरूले सानो टुँडिखेलमा पसल सारेखि नै पसले र खेलाडीबीच विवाद सुरु भएको थियो । तरकारी पसल राखिसकेको ठाउँमै खेलाडीले आइतबार र सोमबार प्रशिक्षण समेत लिएका थिए । त्यसपछि बिवाद झन् उत्कर्षमा पुगेको हो । आफूहरूले बनाएका टहरा खेलाडीले भत्काएपछि अब पसल कहाँ राख्ने भन्ने अन्योल भएको तरकारी विक्रेता लक्ष्मण राईले बताए । साविकको तरकारी बजारबाट विस्थापित भएका धेरै पसलेलाई मंगलबारदेखि तरकारी बिक्रि गर्नबाट पूर्ण बञ्चित भएका छन् । इलाम नगरपालिका अन्र्तगतको नगर खेलकुद विकास समितिले तरकारी बजार अहिलेको स्थानमा सारेपछि नगरपालिकालाई तरकारी पसले वा आफूहरूलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको थियो । तर, नगरपालिकाले तरकारी पसलेहरूलाई सानो टुँडिखेलमा पसल सार्ने विकल्प नै नदिएको समितिले जनाएको छ । खेलकुदसँग नगरले समन्वय नै नगरी खेलकुद विकास समितिको आँगनमा तरकारी पसल राख्दा खेलाडीलाई पूर्ण रुपले असर पुगेको थियो ।
तरकारी पसले र खेलाडी दुवैलाई अन्योल भइरहेकाले नगरपालिकाले तत्काल समन्वय गरेर उचित निकास निकाल्नु पर्ने जिल्ला खेलकुद समितिले जनाएको छ । नगरपालिकाले नै सानो टुडिखेलमा तत्कालका लागि तरकारी पसल राख्न भनेपछि आफूहरू यहाँ आएर पसल राखेको पसलेहरु बताए । नगरपालिकामा भएको सल्लाह अनुसार नगरपालिको तरकारी बजार सानो टुँडिखेलमा सार्ने सल्लाह दिएको वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले बताए । ‘अब चाँडो तरकारी पसलका लागि विकल्प खोज्ने तयारी भइरहेको छ’ श्रेष्ठले भने । इलाम नगरका मेयर महेश बस्नेतले बजारको ग्रिन भ्यु होटलको पछाडिपट्टि तरकारी बजार राख्ने विकल्प खोज्दाखोज्दै खेलाडी र तरकारी पसलेबीच विवाद हुनु दुःखद् भएको जनाए । ‘खेलकुद र तरकारी पसल दुवै पक्षलाई असजिलो नहुने गरी वैकल्पिक व्यवस्था गर्न नगरपालिका प्रयासरत रहेको छ’ मेयर बस्नेतले ‘एक÷दुई दिनभित्रै यो समस्याको समाधान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्