झापा कारागारमा कैदी फरारपछि ६ जना प्रहरी जिल्ला तानिए



भद्रपुर । झापा कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ । भद्रपुर स्थित कारागारमा सुरक्षार्थ सइ हस्तबहादुर श्रेष्ठ ,असइ गणेश राईसहित ड्युटीमा खटिएका एक प्रहरी हवल्दार र चारजना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको झापा जिल्ला प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सइ श्रेष्ठ विदामा बसेको समयमा असइ राइले इन्चार्जको कार्यभार सम्हालेका थिए ।

प्रहरी कर्मचारीको लापरवाहीले कारागारबाट कैदी भागेको तत्काल कारागारको सुरक्षाबाट हटाइएको डिएसपी बस्नेतको भनाइ छ । संगठनको नीति तथा कानून अनुसार उनिहरुलाइ कारबाही हने उनले जनाए । कैदीबन्दी फेला नपरेको खण्डमा ६ जना प्रहरी जागिरबाट समेत बर्खास्त हुन सक्ने उनले बताए । घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीकोे नेतृत्वमा छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । समितिले काम सुरु गरिसकेको बुझिएको छ ।

कारागारबाट गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी आइतबार दिउँसो फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका उनले तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी पश्चात हत्या गरेको अभियोगमा ०७१ असार ५ मा गारागार चलान भएको प्रहरीले जनाएको छ । कारागारमा रहेर बिजुली मर्मतको काम गर्दै आएका माझी भरयाङ्को सहायताले कारागारको पर्खालबाट फरार भएका थिए ।

कारागारबाट फरार भएका माझी बिर्तामोडतर्फ भागेका थिए । उनलाई आइतबार राति करिब ९ बजे गरामनीमा खटिएको प्रहरी टोलीले सडकमा भेट्टाएको प्रहरीले जनाएको छ त्यस बेला उनले दुई जना प्रहरीमाथि ढुंगा प्रहार गरी त्यहाँबाट पनि भाग्न सफल भएको प्रहरीको भनाइ छ । ड्युटीमा खटिएका असइमाथि ढुंगा प्रहार गर्दै गरामनी उत्तर जङ्गलतर्र्फ भागेकाले प्रहरीले रातभर खोजतलास गरे पनि फेला पार्न नसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्