काठमाडौंको जमलबाट बमसहित २ जना पक्राउ



काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउको विरोधमा नेकपाले आजका लागि आब्हान गरेको बन्दमा ठाउँ–ठाउँमा बम विस्फोट भएका छन् भने राजधानीमा पनि बम फेला परेको छ । प्रहरीले राजधानीको जमलबाट बमसहित दुई जनालाई पक्राउ गरेको हो। नेकपाको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सो पार्टीका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। बन्दका नाममा कसैको व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई पक्रेर कानुनी कारबाही गर्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। उनका अनुसार काठमाडौंका नैकाप र सुन्दरीजलमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

यसअघि भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा फेला परेको प्रेसरकुकर बम पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्