विद्युत् चुहावट इतिहासकै कम, प्राधिकरणको नाफा एक अर्बभन्दा बढी



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपियाँ खुद नाफा गरेको बताउनु भएको छ । यद्यपि, अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खुद नाफा अझै बढ्न सक्ने उहाँको भनाइ छ ।

गत आवमा प्राधिकरणको सञ्चालन नाफा भने ७ अर्ब ८६ करोड रुपियाँ पुगेको छ । विद्युत् चुहावट नियन्त्रण, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण नाफामा जान सफल भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपियाँ थप आम्दानी भएको छ । आव २०७३÷७४को प्राधिकरणको खुद नोक्सानी ९७ करोड ८९ लाख रुपियाँ हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा १ अर्ब ५१ करोड रुपियाँ देखिएको थियो । प्राधिकरणको सञ्चित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपियाँ रहेको छ ।

‘प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब २ अर्ब ५० करोड रुपैयाँ हुने प्रक्षेपण गरेको थियौं । तर, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौं,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो–‘मैले जिम्मेवारी सम्हाल्दा संस्था ८ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा थियो, प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जासचिव, सञ्चालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आम उपभोक्ता, प्राधिकरणका कर्मचारी लगायत सबैको निरन्तर सहयोगबाट गत वर्ष पनि संस्था नाफामा गएको हो । तर, हामीले सोचेजति सफलता हासिल गर्न भने अझै सकिरहेको अवस्था छैन ।’

चालू आर्थिक वर्षमा प्राधिकरणले आफैंले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र सहायक कम्पनीमार्फत निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी झनै बढ्ने उहाँको भनाइ छ ।

गत आवमा विद्युत् चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ । प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत् चुहावटलाई २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो ।

प्रतिक्रिया दिनुहोस्