ए सरकार, कहिले हुन्छ हाम्रो घरबार



हेटौंडा, (नेस)। पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीको शब्द रहेको ए सरकार, भयौं बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको दिन पारेर भीमफेदी गाइजले यो गीत म्युजिक भिडियोसहित बजारमा ल्याएको हो। पुष्पन प्रधानले स्वर दिएको गीतमा विकास पाण्डेको संगीत छ। रिकेश गुरुङले एरेन्ज गरेको गीतको भिडियोमा भीमफेदी गाइजको अभिनय तथा निर्मल लामाको निर्देशन छ। भिडियोलाई पवन सुस्लिङले खिचेका हुन्।

बेरोजगारी समस्या, युवा ऋण राखेर बिदेसिनुपरेको पीडा र नेपालको मायालाई शब्दमा उतारिएको छ। उच्चशिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई बिदेसिनुपर्ने बाध्यताका विभिन्न पाटालाई समेटेर शब्द सिर्जना गरिएको गीत म्युजिक भिडियोसहित आएको हो। यसअघि अधिकारीले मेरी सानीले, धरोधर्मलगायतका गीत क्रमशः रूपक डोटेल र रामचन्द्र काफ्लेको स्वरमा सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्