कंगनालाई चाहियो मुनाफाको हिस्सा



बलिउड फिल्म नगरीमा यस्ता स्टार कलाकार पनि छन् जो पारिश्रमिकबाहेक फिल्मले कमाएको मुनाफाको हिस्सा पनि लिने गर्दछन्। यसमा केहिले पारिश्रमिक नलिई फिल्मको मुनाफाको हिस्सा मात्र लिने गर्छन् भने केहिले भने पारिश्रमिकसहित मुनाफा पनि लिने गर्छन्।
यो लिस्टमा हालसम्म पुरुष स्टार कलाकारको नाम मात्र थियो। अब भने यो लिस्टमा महिला स्टार कलाकारको नाम पनि थपिन थालेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार केही समयअघि मात्र नायिका प्रियंका चोपडाले यो कदम चालेकी थिइन्।

उनले सलमान खानको फिल्म भारतबाट मुनाफाको हिस्सा पनि लिने बताएकी थिइन्। तर, पछि भारत नै छोडेर हलिउडतिर लागिन्। हाल भने यो लिस्टमा अर्की नायिका कंगना रनावत पनि थपिएकी छिन्। समाचारमा जनाइएअनुसार नायिका कंगना रनावतले आफ्नो आगामी फिल्म मेन्टल है क्याबाट पारिश्रमिक नभई मुनाफाको हिस्सा मागेकी छिन्। फिल्मकी निर्मात्री एकता कपुरले कंगनाको मागलाई सकारात्मकरूपमा लिएकी छिन्। यदि कंगनाको माग पूरा भएमा फिल्मको मुनाफाको हिस्सा लिने कंगना पहिलो बलिउड अभिनेतृ हुने छिन्।

बलिउडका ३ ठूला सुपरस्टार सलमान खान, साहरुख खान र आमिर खानले मात्र फिल्मको मुनाफा लिने गरेका थिए। सलमान खान यस्ता अभिनेता हुन्, जो फिल्मबाट चर्को पारिश्रमिकका साथ फिल्मको कमाइबाट भएको फाइदाको हिस्सा लिने गर्छन्। यो मामलामा बलिउडमै उनको नाम सबैभन्दा अगाडि छ। सलमान खानको ब्रान्ड भ्यालु सर्वाधिक बढी मानिन्छ। किनभने उनको नामबाटै फिल्मले कमाउने गर्छ र हिटको व्यापार गर्ने गर्छ। तर, हिरोइनको कुरा गर्ने हो भने बलिउडमा यस्तो कहिल्यै भएको थिएन कि फिल्मको फाइदाबाट समेत हिस्सा मागियोस् वा मुनाफा शेयर गरियोस्।

प्रतिक्रिया दिनुहोस्