हात गुमाएकी रूपाको सांगीतिक हिम्मत



हात सानैमा गुम्यो उनको, तर गलाले अगाडि लगिरहेको छ। बाल्यकालमै दुवै हात गुम्न पुगे पनि रूपा रौतार गायिकाका रूपमा अगाडि बढेकी छिन्।

सोमबार राजधानीमा आयोजित एक समारोहबीच उनै गायिकाको एकल स्वर रहेको गीति अडियो एल्बम हिम्मत भाकी छोरी सार्वजनिक गरिएको छ। प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यंग्यकार हरिवंश आचार्य, संगीतकार सुरेश सेञ्चुरी र समाजसेवी विकास घिरैयाले संयुक्तरूपमा उनको एल्बम सार्वजनिक गरेका हुन्। एल्बममा रूपाको एकल स्वरमा ६ गीत समावेश छन्। यी गीतमा सुरेशले एकल संगीत दिएका छन् भने सरला गह, तेजप्रसाद पाण्डे, रोजिना थापा, डा. कृष्णहरि बराल, दिनेश खड्का र सुरेश सेञ्चुरीको शब्द रहेको छ।

कार्यक्रममा एल्बममा संगृहित २ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो भने मेरी आमा बोलको गीतलाई रूपाले लाइभ गाएर सुनाइन्। उनको गायकीको कार्यक्रमका सहभागी सबैले तारिफ गरे। उनको लेख्दै छु बोलको गीतको भिडियोमा प्रवीण खड्काको छायांकन, प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको थियो भने शीर्ष गीत हिम्मत भाकी छोरीको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, भरत रेग्मीको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको थियो।

कार्यक्रममा हास्य अभिनेता हरिवंश आचार्यले गायिकाको प्रतिभाको चर्चा गरे। ‘रूपा बहिनीको स्वरले मन छुन्छ। उहाँको बारेमा बुझेर गीत सुन्दा र हेर्दा झनै भावुक भइयो। गीतमा लेखिएका शब्द र स्वरले उहाँको जीवन बोल्छ’, हरिवंशको भनाइ थियो– ‘उहाँको हात छैन तर त्यसलाई गलाले अगाडि बढाउनेछ जस्तो लाग्छ। रूपा बहिनीको प्रतिभा आज हामीले देख्यौं, सुन्यौं यसलाई छिट्टै नै विश्वले पनि बुझ्न पाओस्।’ समाजसेवी अग्रवालले रूपाको शारीरिक अवस्थामा र प्रतिभा थाहा पाएपछि उनलाई अगाडि ल्याउने कोशिस गरेको बताए। संगीतकार सेञ्चुरीले रूपाको प्रतिभा देखेर ६ वर्षदेखि संगीतको प्रशिक्षण दिइरहेको बताए। ‘उनको आत्मविस्वास ले नै उनलाई यहाँसम्म लिएर आएको छ।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्