चीनसँगको अर्बौ डलरको सम्झौता रद्द गर्ने प्रयास गर्ने छौं: महाथिर



पुत्रजय (एजेन्सी)
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पुर्व सरकारद्वारा चीनसँग गरिएका अर्बौं डलरको सम्झौता रद्द गर्न आफुले प्रयास गर्ने बताए ।
आफनो सरकारले देशलाई ऋणबाट बाहिर ल्याउने काम गरिरहेको महाथिरले बताए । चीन भ्रमणका लागि प्रस्थान गर्नु अगाडी उनले उक्त कुरा बताएका हुन् । महाथिरले ३ महिना अगाडी मलेसियाको सत्तामा पुनरागमन गरेका हुन् ।

आफु चीनसँग राम्रो सम्बन्ध राख्न इच्छुक रहेको र उसको लगानीलाई स्वागत गर्ने महाथिरले बताए । यद्यपी चीन समर्थित ग्यास पाइपलाइन र मलेसियाका पुर्वी तटको किनाराको रेड परियोजनालाई लिएर कडा निति अपनाएका थिए ।

ती दुई सम्झौता पुर्व प्रधानमन्त्री नजिब रजाकले गरेका थिए । अहिले एक भ्रष्टाचार कान्डमा अर्बौं डलर गोलमाल गरेको मामिलामा विभिन्न आरोपको सामना गरिरहेका छन् । महाथिरले भने– ती परियोजना जरुरी छ भन्ने हामीलाई लाग्दैन । यो ब्यवहारिक छ भन्ने पनि हामीलाई लागेको छैन । त्यसैले हामी यी दुई परियोजनालाई रद्द गर्न चाहन्छौं ।

नजिबको शासनका क्रममा चीन र मलेसियाबीच अत्यन्तै नजिकको सम्बन्ध बनेको थियो । पुर्व प्रधानमन्त्रीले चीनसँग सन् २०१६ मा ६ सय ८८ किलोमिटर लामो इस्ट कोस्ट लिंक परियोजना र दुई ग्यास पाइपलाइन परियोजना निर्माण गर्ने सम्झौता गरेका थिए । मलेसियाको नयाँ सरकारले चीन समर्थित कम्पनीहरुसँग जोडिएका ती परियोजनाको काम पहिले नै स्थगित गरिसकेको छ । यदि परियोजनाहरु रद्द गर्न सम्भव नभएमा मेलेसियालाई कम्तिमा केही समयका लागि निलम्बित राख्नु पर्ने हुन्छ ।

महाथिरले दक्षिण चीन सागरमा जहाजहरुको स्वतन्त्र आवागमनलाई पनि सम्मान गर्न चीनलाई आग्रह गरेको छ । चीन र मलेसिया लगायतका बहु दक्षिणपुर्व एसियाली मुलुकहरुले उक्त सागरमा रहेका टापु तथा जलिय भुभागमाथि आ–आफनो दावी गर्दै आइरहेका छन् । प्रचुर मात्रामा माछा पाइने उक्त क्षेत्र जैविक इन्धनका लागि पनि धनि मानिन्छ ।
चीनले उक्त सागरको धेरैजसो क्षेत्रमाथि आफनो सम्प्रभुता दावी गर्दै कृतिम टापु लगायत विभिन्न संरचनाहरु निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्