उर्लियो कमला, दुई हजारभन्दा बढी तीर्थयात्री समस्यामा



सिन्धुली ।
कमला नदीको बढ्दो जलस्तरसँगै किनारका बस्ती जोखिममा परेका छन् ।

नदीको बढ्दो जलस्तरसँगै तल्लो क्षेत्र सिरहा र धनुषामा जोखिम बढेको छ । भेल बढेपछि त्यस भेगका नदी किनारका बासिन्दा डरले निदाउन सकेको छैन् । केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुलीस्थित कमला, चदाँहा, मरिण, ग्वाङलगायत खोलामा पानीको बहाव अत्याधिक बढेको छ ।

पानीको बहाव वढेपछि सबैभन्दा बढी तीर्थयात्री समस्यामा परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगङ्गा महादेव मन्दिरमा दर्शन गर्न आएका तीर्थयात्री कमला नदीमा पानीको बहाव वढेपछि समस्यामा परेका हुन् ।

वर्षात्का कारण कमला नदीमा पानीको बहाव बढेपछि प्रहरीले उनीहरुलाई सुरक्षित राख्दै कमला नदी तर्न दिएको छैन । मन्दिरमा दर्शन गरी फर्किएका दुई हजार तीन सयभन्दा बढी दर्शनार्थीलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटाई तीर्थयात्रीलाई कमला नदीमा प्रवेश गर्न नदिइएको उहाँको भनाइ छ । चन्दनपुरबाट कमला खोला तरी मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न गएका तीर्थयात्रीलाई अहिले अन्यन्त्रैबाट गन्तव्यमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताउनुभयो ।

यस वर्षकै सबैभन्दा ठूलो बाढी कमला नदीमा आएकाले तीर्थयात्रीलाई नदी तर्न नदिइएको र फर्कन चाहने तीर्थयात्रीलाई दुधौली नगरपालिकाको हर्षाही–जगाडी हँुदै चन्दनपुरतर्फ पठाइने उहाँले बताउनुभयो । तीर्थयात्रीलाई सुरक्षितका साथ गन्तव्यतर्फ पठाउनका लागि ट्याक्टर तथा स्थानीय सवारी साधन तयारीका साथ राखिएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

करिब २० किलोमिटर कच्ची सडक पार गरेपछि तीर्थयात्रीले आफूले राखेको सवारी भएको ठाउँमा पुग्ने भएकाले प्रहरीले तीर्थयात्रीलाई सुरक्षित साथ फर्काउन प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।

छिमेकी जिल्लाका साथै भारतका विभिन्न प्रान्तबाट मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न तीर्थयात्री यहाँ आएका छन् । सोमबार भएका कारण विगतका तुलनामा आज धेरै तीर्थयात्री यहाँ आएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । कमला नदीमा पक्की पुल नबन्दा वर्षौदेखि समस्या रहेको छ । अघिल्ला वर्षहरुमा समन्वय नहुँदा कमला नदी तर्दा केहि तीर्थयात्रीलाई बगाउने गरेको थियो ।

यता निरन्तर अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गअन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिकामा पर्ने सडकमा सवारी रोकीएका छन् । स्थानीय खोलामा बाढी आएपछि सवारी साधन आवतजावत अवरुद्ध भएको र पानीको बहाव घटेपछि पूर्णरुपमा सुचारु हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस बाहेक जिल्लाका अन्य खोलामा बाढी आए पनि क्षतिको यर्थात् विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्