खानेपानी आयोजनाका सम्पन्न गर्न चारपक्षबीच बित्तिय सम्झौता



गणेश घिमिरे, इलाम ।
इलाम नगरमा सञ्चालन हुन लागेको इलाम बजार साना सहरी खानेपानी आयोजनाका लागि चार पक्षबीच सोमबार बित्तिय सम्झौता भएको छ । एशियाली बिकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण हुन लागेको योजनाका लागि खानेपानी आयोजना ब्यबस्थापन कार्यालय, नगर बिकास कोष, इलामनगरपालिका र इलाम बजार खानेपानी सरसफाई उपभोक्ता समितिबीच बित्तिय सम्झौता भएको हो ।

खानेपानी आयोजना ब्यबस्थापन कार्यालयको तर्फबाट उपनिर्देशक लिलाप्रसाद ढकाल, नगर बिकास कोषका आयोजना संयोजक सुबास पन्त, इलामनगरपालिकाका मेयर महेश बस्नेत र आयोजना उपभोक्ता समितिका अध्यक्ष केदार थापाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ८५ करोड रुपैंयाँको लागतमा निर्माण हुने आयोजनाका लागि अब भने टेण्डर प्रकृया हुने भएको छ । साउन महिनाभित्र टेण्डर हुने र त्यसपछि आयोजना निर्माणको ढोका खुल्ने नगर बिकास कोषका संयोजक सुबास पन्तले बताए । नेपाल सरकारको शहरी बिकास मन्त्रालय अन्र्तगत खानेपानी तथा ढल निकास बिभागमार्फत आयोजना संचालन हुन लागेको हो ।

आयोजना निर्माणमा एडिबी मार्फत नेपाल सरकारले ७० प्रतिशत (५८ करोड ५७ लाख), नगर बिकास कोषबाट २५ प्रतिशत ऋण सहयोग (२० करोड ९२ लाख), प्राप्त हुनेछ । उपभोक्ताबाट भने पाँच प्रतिशत अर्थात चार करोड २७ लाख १५ हजार रुपैंयाँ संकलन भइसकेको छ । आयोजनाबाट लाभान्वित हुने उपभोक्ताहरुको अग्रिम दाखिला गर्नुपर्ने ५ प्रतिशत नगद रकम दाखिला भइसकेकाले सरोकारवालबीच वित्तीय सम्झौता भएको हो । समितिले उपभोक्तबाट १५ हजार २ सय रुपैंयाँका दरले रकम संकलन गरेको थियोे । आयोजनाको ठेक्का लागेपछि दुईबर्षभित्र योजना सम्पन्न हुनेछ ।

लामो समयदेखि इलामनगरबासिले झेल्दै आएको खानेपानी समस्या समाधान हुने भएको छ । नगरमा प्रतिसेकेण्ड ३२ लिटर पानीको माग हुँदै आएकोमा अहिले प्रतिसेकेण्ड ८ लिटर मात्र आपूर्ती भइरहेको नगरपालिकाले जनाएको छ । समितिका अध्यक्ष केदार थापाका अनुसार अब आयोजना बन्ने निश्चित भइसकेकाले दुइबर्ष पछि इलाम बजारमा प्रतिसेकेण्ड ४४ लिटर पानी आपूर्ती हुने दाबि गरे । यस अायोजनाबाट ४१ सय घरधुरीका २८ हजार एकसय ७२ घरधुरी लाभान्वित हुनेछन् ।

आयोजनाबाट इलाम नगरपालिकाको वडा नम्बर ६ र ७ तथा वडा नम्बर ८÷९ को आधा–आधा भागका उपभोक्ताबाट लाभान्वित हुनेछन् । आयोजना निर्माण सम्पन्न पश्चात त्यसको सबै स्वामित्व इलाम नगरपालिकाले लिनेछ । योेजना निर्माणका लागि जिल्लाको सन्दकपुर गाउँपालिकामा रहेको गीताङ, राते र मेवा खोलाको पानी आपूर्ती गरीनेछ । अहिले पनि नगरमा गीताङ खोलाको पानी आपूर्ती भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्