खोटाङमा लोपोन्मुख संस्कृतिहरुको भब्य प्रदर्शनी हुने



रामधन राई, खोटाङ ।
खोटाङमा लोपोन्मुख मौलिक संस्कार संस्कृति झल्कने नाचगानको बृहत प्रर्दशनी गर्ने तयारी गरिएको छ । हिन्दु महिलाहरुको बिशेष चाड तीजको अवसरमा बहुआयामिक संरक्षण समाज दिक्तेलले लोप हुदै गएको बिभिन्न मौलिक बाजागाजा, गीत तथा नृत्यको प्रर्दशनी गर्ने तयारी गरेको हो ।
लोक संस्कार–संस्कृतिको संरक्षण, संर्बद्धन तथा प्रबद्र्दन गर्दै भावी पूस्तालाई समेत त्यसको महत्व बुझाउन ‘तीज महोत्सव’ को रुपमा उक्त प्रर्दशनीको तयारी गरिएको आयोजकले जनाएको छ । आगामी भदौ २५ गतेदेखी हरितालिका तीजको दिन २७ गतेसम्म नेपाली आयोजना हुने तीज महोत्सवमा मारुनी, संगीनी लगायतको नृत्य प्रर्दशनी गर्ने तयारी गरिएको समाजको अध्यक्ष अनिल आचार्यले जनाउनुभयो । महोत्सबमा लोपोन्मुख मौलिक संस्कार–संस्कृति झल्कने पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रर्दशनीका साथै लोक दोहोरी गीत प्रतियोगिताको समेत आयोजना गर्ने अध्यक्ष आचार्यको भनाई छ ।
जिल्लाभरी रहेका उक्त लोक बाजागाजा, मौलिक संस्कृति झल्कने गीतसंगीत तथा नृत्य समुहलाई समाबेश गराउने तयारी गरिएको दिक्तेलबजारमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत बताईएको छ । पत्रकार सम्मेलन तथा छलफल कार्यक्रममा बिशेषगरी जिल्लाभरका महिलाहरुलाई समाबेश गराउने गरी कार्यक्रमको तय गरिएको उल्लेख गरिएको छ । ्
तीज महोत्सबमा ‘खोटाङ जिल्ला दिक्तेल बजार, संस्कृतिलाई जोगाउँ हजुर’ बोलमा लोकदोहोरी प्रतियोगिता हुने जनाकारी गराईएको छ । लोकदोहोरी प्रतियोगितमा प्रथम हुने समुहले १० हजार, दोश्रोले ६ हजार र तेश्रो हुने समुहले ३ हजार रुपैयाँ तथा संगिनी नाच, मारुनि नाच प्रर्दशनीमा सहभागीहरुलाई भने प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रमलाई भब्य बनाउन बिन्दा थापाको संयोजकत्वमा तीज महोत्सब मूल आयोजक समिति तथा दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ब्यवस्थापन तथा आर्थिक समिति समेत निर्माण गरिएको उल्लेख छ ।
बहुआयामिक संरक्षण समाजले गत बर्षहरु पनि यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्