लिभरपुलको सुखद सुरुआत



लन्डन, (एजेन्सी)
यस सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलले सुखद सुरुआत गरेको छ।

आइतबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। लिभरपुलको सहज जितमा साडियो मानेले २ तथा मोहम्मद सलाह र ड्यानियल स्टुरिजले समान १–१ गोल गरेका थिए। लिभरपुलले खेलको १९औं मिनेटमा सलाहको गोलबाट अग्रता लिएको थियो।

यस्तै पहिलो हाफको इन्जुरी समयमा मानेले जेम्स मिल्नरको पासमा गोल गरेपछि लिभरपुलले पहिलो हाफसम्म २–० को अग्रता बनाएको थिए। यस्तै ५३औं मिनेटमा मानेले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दा खेलमा लिभरपुल ३–० ले अघि बढ्यो। खेलको ८८औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानियल स्टुरिजले गोल गर्दै लिभरपुललाई ४–० को फराकिलो जित दिलाए।

ड्यानियल मैदान छिरेको एक मिनेट पनि नबित्दै गोल गर्न सफल भएका हुन्। उनी सलाहको स्थानमा मैदान प्रवेश गरेका थिए। आइतबारै भएको अर्को खेलमा बर्नले र साउथह्यामप्टनबीच भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस्