लगानीकर्ता अन्योलमा हुँदा शेयर बजारमा पहिरो



नेपाल समाचारपत्र

काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार उच्च अंकले घटेको छ। निक्कै लामो समयपछि नेप्से दोहोरो अंकले घटेको हो। निरन्तर गिरावटका कारण शेयर बजारका लगानीकर्ता निराश हुन थालेको छन्।

पुँजी बजारका आएको निरन्तरको गिरावटप्रति सरोकारवाला निकाय मुखदर्शकजस्तै बन्दा लगानीकर्ताले आफू थप पीडित भएको बताउन थालेका छन्। बजारमा गइरहेको पहिरोलाई रोकथाम गर्न निश्चित टुल्स नअपनाउने हो भने नेपालको पुँजी बजारमा अझै ठूलो डिजास्टर आउन सक्ने लगानीकर्ताहरूको भनाइ छ।

बजार घट्दै जानुको कुनै स्पष्ट कारण नभए पनि बैंकको ब्याजदर, बजारमा शेयर संख्याको वृद्धि र शेयर बजारमैत्री सरकार नहुनुकै कारण अहिले बजारको गिरावटका मुख्य कारण मानिएका छन्। त्यस बाहेक शेयरमा क्यापिटल गेन ट्याक्सको विषय स्पष्ट नहुँदा पनि लगानीकर्ता ‘पर्ख र हेर’को स्थितिमा रहेका छन्। शेयरमा लाग्ने करका बारेमा अध्ययन गरेर प्रतिवेदन सुझाव दिन गठित अर्थ मन्त्रालयको समिति निष्कृय हुँदा त्यसको निचोड आउन सकेको छैन।

सरकारले कुनै पनि बेला लगानीकर्ताको घाँटी अठ्याउन सक्ने त्रास लगानीकर्तामा रहेको छ। त्यसबीचमा बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर र बजारमा उच्च आपूर्तिले गर्दा लगानीकर्ताले टाउको उठाउन सक्ने अवस्था छैन। हरेक साताजस्तो आईपीओ र एफपीओ खुलेका छन् भने हकप्रद शेयर पनि त्यतिकै संंख्यामा थिएका कारण मागभन्दा आपूर्ति उच्च देखिएको छ। जसले गर्दा बजारमा गिरावट आउन सहयोग पुगेको छ। यद्यपि, वित्तीय अवस्थामा राम्रँे रहेका कम्पनीको शेयर खरिद गरेर दीर्घकालीनरूपमा लगानी गर्नुपर्नेतर्फ अनुभवी लगानीकर्ताको सुझाव छ। यसैबीच आइतबार नेप्से १६ दशमलव ६९ अंकले घटेर १ हजार १ सय ६३ दशमलव ९४ को बिन्दूमा झरेको छ। कुल १ सय ६२ कम्पनीको ७ लाख ८१ हजार ५६० कित्ता शेयर खरिद बिक्री हुँदा २५ करोड २ लाख २६ हजार ४९१ रुपियाँको कारोबार भएको छ।

यस दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे कारोबार भएको छ। जसको आज ३ करोड ७१ लाख ८८ हजार २९१ रुपियाँको शेयर कारोबार भएको छ। त्यस्तै सर्वाधिक कमाउनेमा आरम्भ माइक्रोफाइनान्स र साल्ट टेडिङका लगानीकर्ता रहेका छन्। जसको शेयर मूल्यमा ३ प्रतिशतभन्दा बढीले बढेको छ। साथै सर्वाधिक गुमाउनेमा मल्टी पर्पोज कम्पनीका लगानीकर्ता रहेका छन्। जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्