स्वार्थी रोग, धन रोग र स्वास्थ्य रोग



रमेशकेशरी वैद्य
आजभोलि हाम्रो देशमा मानिसहरू दिनहुँ रोगी भइराखेको हामीले पाइराखेका छौं। यति मात्र होइन, हिजो देखेको मान्छे आज छैन र आज देखेको मानिस भोलि छैन। यसका खास कारणहरू पनि विभिन्न रोग नै हुन्। यसमा दोषी व्यक्ति, समाज, प्रशासन, सरकारलाई मान्न सकिन्छ। कारण लालच, हेलचेक्र्याइँ, स्वार्थ आदिले गर्दा सबै पक्षले आफ्नो दायित्वलाई भूलिराखेका हुन्छन्। सर्वप्रथम त जुनसुकै सरकारहरू आए पनि लालच र स्वार्थले गर्दा मानिसहरूको स्वास्थ्यप्रति बेवास्ता गरिराखेको हुन्छ, जुन भनिराख्नुपर्ने कुरा होइन। शायद यही कारणले होला, मानिसहरू प्रायः मुटु, दम, क्यान्सर, किड्नी आदी रोगबाट हैरान भइराखेका छन्।

वास्तवमा यसरी रोगहरू बढ्नुको कारण धूलो, धुवाँ, अशुद्ध पानी, विषादी तरकारी–फलफूल, खराब रक्सी, गुट्खा तथा बासी माछामासु आदिलाई मान्न सकिन्छ। तर एकपल्ट फेरि भन्नुपर्दा सरकार व्यक्तिहरूको स्वास्थ्यसँग खेलबाड गरिराखेका हुन्छन्, जुन एकदम गलत कुरा हो। आखिर हाम्रा सरकारहरू सधैँ कुन त्यस्ता विषयमा अल्झिराखेका हुन्छन्, जब कि समाजको स्वास्थ्यको लागि पनि समय दिइराख्न सकेका हुँदैनन्। यस्ता कुराहरूलाई लिएर सरकारलाई घचघच्याउँदा सरकार सधैँ अनुगमनका कुरालाई लिएर सर्वसाधारणसमक्ष ढाकछोप गरी राखेका हुन्छन्। अनुगमन त भइराखेको छ मुलुकमा खाद्यवस्तुहरूप्रति तर कहिल्यै सफल नहुने, आखिर यसको कारण के हो त ? पत्ता लगाउनु जरुरी भएको छ।
१. सर्वप्रथम गलत गर्ने व्यक्ति अथवा व्यापारीलाई स्पटमा जरिबाना गर्नु आवश्यक छ।

२. अनुगमनकर्ता र व्यापारीबीच रकमको लागि साँठगाँठ भएमा कर्मचारीप्रति काउन्टर चेक गरी भ्रष्ट कर्मचारीहरूलाई तुरुन्त बरखास्त गर्ने सरकारमा क्षमता हुनुपर्दछ, अन्यथा त्यो सरकार नालायक हो।
३. जुनसुकै सरकार आए पनि अनुगमनकर्ताहरूलाई पुग्ने अनुगमन भत्ता दिनु जरुरी छ, जसले गर्दा व्यापारीहरूले यस्ता अनुगमनकर्ताहरूलाई किन्न नसकून्।

कुनै पनि लालची व्यापारीले मानिसहरूको स्वास्थ्यसँग खेलबाड गरी अखाद्य सामानहरू बिक्री वितरण गरी राखेका छन् भने यस्ताहरूलाई जेलमा कोच्न पनि सरकार हिचकिचाउनुहुँदैन, तर खोइ त जेलमा गएका खराब व्यापारीहरू, अहिलेसम्म देखिएनन्।

स्वास्थ नै सबैभन्दा ठूलो धन ः

जीवनमा पैसा मानिसहरूको जरुरत हो तर पैसा नै मानिसहरूको जिन्दगी होइन, यही कुरालाई लिएर हाम्रो जस्तो मुलुकमा डाक्टरहरूले पनि असहाय गरिब जनताका लागि कमाउनुबाहेक आफ्नो तर्फबाट केही योगदान गर्नु जरुरी छ। तर यतातिर ध्यान गएको देखिँदैन। कारण यिनीहरूले आफ्नो अध्ययनको समयमा यो लाइनमा पर्याप्त धन खर्चेको हुन्छ, त्यस कारण प्रायः यस्ता डाक्टरहरूको पहिलो उद्देश्य नै आफ्नो रकम उठाउनु र मुनाफा कमाउनु हुन आउँछ, जुन गलत कुरा हो।
हाम्रो जस्तो मुलुकमा अज्ञानी र अशिक्षित व्यक्तिहरू धेरै भएको कारणले गर्दा डाक्टरहरूको समूहले अर्थात् मेडिकल एसोसिएसनले स्वास्थ्यसम्बन्धी ज्ञानका पत्रपत्रिकाहरू जनसमाजमा धेरैभन्दा धेरै प्रचारप्रसार गर्नुपर्दछ। हुन त यी कुराहरू नभएको होइन, तैपनि यिनीहरूको वितरण, फ्री वृत्तचित्र तथा फ्री शिक्षा दिनेतर्फ सम्बन्धित निकायहरूका अझै कमी–कमजोरीहरू छन्।

अहिलेको समयमा औषधि उपचार तथा चेकअप गर्नसम्म नपाउने गरिब रोगीहरूको कमी छैन यहाँ। त्यस कारण हप्तामा एकदिन डाक्टरहरूले गरिब, दुःखीहरूका लागि निःशुल्क हेर्ने व्यवस्था हुनुपर्दछ। यो विधि कुनै–कुनै हस्पिटलहरूमा छ तर पर्याप्त मात्रामा भने छैन।

अहिलेको घडीमा स्वास्थ्य मन्त्रालय तथा नगरपालिकाजस्ता निकायले हरेक सानो–ठूलो होटेलहरूमा कस्तो पानी प्रयोग हुन्छ, पानी पिउन योग्य छ कि छैन भन्ने कुरा अनिवार्य रूपले जाँच गर्नुपर्दछ। जसरी स्वास्थ्य मन्त्रालयले पानी उमालेर पिउनुपर्दछ भनेर सञ्चारमाध्यममा प्रचार गरिराखेको हुन्छ त्यसरी नै चाहे होटलमा होस्, चाहे घरमा होस्, फिल्टर गरेको र पिउन योग्य पानी मात्र पिउने गर्नुपर्छ भनेर सबैलाई सम्झाउनुपर्दछ। तर दुःख लाग्दो कुरो, जारको पानीमा शंका गर्नुपर्ने मुलुकमा कसलाई सम्झाउने, कोसँग कराउने ?

स्वास्थ्यकै कुराको सिलसिलामा यहाँ मासु बेच्ने तरिका पनि ठीक छैन। बोसो र चाम्रो मासु खाने बानी बसेका नेपालीलाई जति सम्झाए पनि नलाग्ने हुन्छ। यसप्रति न मासु खाने मान्छेलाई मतलब छ, न मासु बेच्नेलाई, न त सरकारलाई। अस्वस्थकर मासुले रोग निम्त्याउँछ भन्ने कुरा सबैलाई थाहा छ। तैपनि यसको विरुद्ध आवाज उठाएको पाइँदैन। कहीँ–कतै सुनिन्छ, त्यसको कुनै प्रभाव जनमानसमा परेको छैन। यसमा समाजका प्रबुद्धवर्ग र चिकित्सकहरूले राम्रा–राम्रा सुझावहरू सरकारलाई दिनु जरुरी छ। तर यी सबका लागि सर्वप्रथम मुलुकमा पर्याप्त मात्रामा वधशालाहरू हुनु जरुरी छ।

हाम्रो देशमा तरकारी तथा फलफूलहरूमा अनेक किसिमका रसायनहरूले स्वास्थ्यमा हानि गरिराखेको हुन्छ। यसमा प्रशासन तथा स्वास्थ्य मन्त्रालयले कस्तो कदम चालिराखेको छ ? त्यो यहाँका मानिसहरू जान्न उत्सुक छन्। हाम्रो जस्तो मुलुकमा सरकार तथा स्वास्थ्य मन्त्रालयले सुर्ती, गुट्खातर्फ कहिल्यै कडा कदम चालेन, जसले गर्दा भविष्यमा देश, सरकार, सर्वसाधारणका लागि आर्थिक तथा स्वास्थ्यका हिसाबले सबैलाई हानि सिद्ध हुन आउँछ।
वास्तवमा भन्ने हो भने, अहिलेको

परिप्रेक्ष्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू बनाएर जनतासमक्ष पुर्याउन आजको दिनमा स्वास्थ्य मन्त्रालय एवम् सम्बन्धित निकायहरू पछि हट्नुहुँदैन। हस्पिटलको खर्चिलो वातावरण, डाक्टरले गर्नुपर्ने व्यवहार, कुन रोग लाग्दा के गर्नुपर्दछ, सरसफाइ कसरी गर्नुपर्दछ भन्ने कुरामा स्वास्थ्य निकायहरू गम्भीर बन्नै पर्छ। औषधि र बिरामीको उपचारमा प्रयोग गर्ने सम्पूर्ण कुराको जानकारी टेलिचलचित्र, पम्प्लेट, सडक नाटक, शैक्षिक कार्यक्रम र सानैदेखिको कक्षामा पढ्ने सामग्रीको रूपमा राखेर अघि बढ्नु जरुरी छ।

यो देशमा जुनसुकै सरकार आए पनि धूलो–धुवाँको समस्या समाधान कहिल्यै भएन। साथै फोहोरबाट कम्पोस्ट मल बनाउने कुरा पनि कहिल्यै भएन। देशमा प्रायः मानिस रोगी हुनुको मुख्य कारण यो पनि एउटा हो। समग्रमा भन्नुपर्दा अब सरकार सुतिराख्ने समय होइन। सबैको स्वास्थ्यको विचार गरी सरकार यो मामलामा

कठोर भएर अघि बढ्नु आवश्यक छ। स्वार्थी रोग र धन रोग त मौलाएकै छ, स्वास्थ्य रोग पनि मौलायो भने यहाँभन्दा समस्या के होला ?

प्रतिक्रिया दिनुहोस्