सगरमाथाको उचाइ नाप्न न्युजिल्यान्डको चासो



प्रशान्त वली, काठमाडौं
विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ मापनमा न्युजिल्यान्डले चासो देखाएको छ। भारतको नयाँदिल्लीमा रहेको न्युजिल्यान्ड दूतावासद्वारा हालै जारी विज्ञप्तिमार्फत यस्तो चासो देखाएको हो। उक्त विज्ञप्तिमा डा. क्रिस पियर्सनको सहयोगमा सगरमाथाको उचाइ नाप्न नेपाललाई सहयोग गर्ने जनाइएको छ। यसका लागि पहिलो चरणको योजना तयार गर्न तथ्याङ्क संकलनको काम भइरहेको बताइएको छ।

न्युजिल्यान्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले नेपाल सरकारअन्तर्गतको नापी विभागसँग चार सातासम्म मिलेर काम गरिरहेका न्युजिल्यान्डकै नागरिक भू–गणितज्ञ डा. पियर्सनलाई सहयोग गरिरहेको हो। पियर्सन २९ दिनदेखि नेपालमै रहेको बताइन्छ। नापी विभागका महानिर्देशक गणेशदत्त भट्टले पनि यस कार्यमा तथ्याङ्क अद्यावधिका लागि डा. पियर्सनले प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘सगरमाथाको उचाइबारे आधिकारिक धारणा ल्याउन अन्तर्राष्ट्रिय टिमले समेत सहयोग गरोस् भनेर न्युजिल्यान्डबाट प्राविधिक सहयोग लिइएको हो।’

उहाँले यस कार्यका लागि विदेशी सहयोग नलिइएको र नेपाल सरकारले नै १७ करोड रुपियाँ रकम विनियोजन गरेको जानकारी दिनुभयो। मापनमा प्राविधिक सहयोग मागिए पनि कसैले हस्तक्षप गर्न नसक्ने विभागका सूचना अधिकारी दामोदर ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया शुरू गरेको यो पहिलोपटक हो।

अहिले वर्षायामको समय भएकाले जेठ अन्तिमदेखि मापन कार्य रोकिएको छ। विशेषतः सगरमाथा चढ्ने पहिलो व्यक्ति एडमन्ड हिलारी न्युजिल्यान्ड निवासी रहेका र पियर्सनले भूकम्पपछि केन्द्रबिन्दुबारे अध्ययन गरेकाले उहाँको प्राविधिक सहयोग लिइएको नापी विभागको भनाइ छ।

धेरै भू–गर्भविद्ले २०७२ वैशाख १२ मा गोरखा केन्द्र्रबिन्दु भई गएको भूकम्पका कारण सगरमाथाको उचाइ ३ सेन्टिमिटरसम्म कम भएको हुन सक्ने बताएका थिए। विभागको नेतृत्व रहेको यो परियोजनाअनुसार सर जर्ज एभरेस्टले अपनाएको परम्परागत नापी विधिका साथै आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम रिसिभरलाई सगरमाथाको टुप्पोमा लगी उचाइ नापिनेछ।

उक्त कार्य शुरू गर्नुपहिले विभागले गत ०७४ मंसिर २५ र २६ गते भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकबीच अन्तर्राष्ट्रिय गोष्ठी गरी मापन गर्ने विषयमा सुझाव मागेको थियो। विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार पारिएको थियो।
यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ नापी ८ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो। नेपालको एक टोली गत कात्तिक ७ गते सोलुखुम्बु पुगी भारतीय सर्वेक्षकले त्यस बखत उचाइ नाप्न प्रयोग गरेको नियन्त्रणबिन्दु खोजेको थियो। सोलुखुम्बुको आठ, खोटाङ र दोलखाको दुई÷दुई स्थानमा उक्त बिन्दु राखेको बताइन्छ।

उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि भू–उपग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा छ। अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दशपटक सगरमाथाको उचाइ मापन गरिएको छ।

विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिकरूपमा मान्दै आएको उचाइ भारतीय टोलीले गरेअनुसार रहेको नापी विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्