ग्राहकलाई पार्किङ, व्यवसायीलाई ‘नो पार्किङ’



हेटौंडा ।
हेटौंडा बजार बन्द गरेर ‘नो पार्किङ’ विरुद्ध आन्दोलन गरिरहेको मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकाबीच सहमति भएको छ । हेटौंडा उपमहानगरपालिकामा आइतबार भएको वार्ताले सहमति गरेको हो ।
दुवै संस्थाले जित्ने गरी सहमति कायम गरिएको छ । न ‘नो पार्किङ’ पूर्णरुपमा हटेको छ, न त ‘नो पार्किङ’ कायम भएको छ । दुवै पक्षलाई मध्यनजर गरेर सहमति कायम गरिएको मकवानपुर उद्योग वाणिज्य संघ कार्यबाहक अध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।
वार्तामा भएको सहमतिअनुसार अब ‘नो पार्किङ’ क्षेत्रमा ग्राहकले सामान किनमेल गर्दा आफ्नो मोटरसाइकल रोक्न पाउने भएका छन् भने ब्यवसायीलाई सोही क्षेत्रको एक स्थानमा पार्किङ गर्न दिइने भएको छ । उपभोक्ताले पार्किङ गरेको स्थानमा व्यवसायी र घरधनीले पार्किङ गरे १ हजार जरिवाना लाग्ने सहमति भएको छ । ‘नो पार्किङ’ लागु गरिएका सबै स्थानमा एकतर्फी दुईपांग्रे सवारीसाधन उपभोक्ताले मात्र रोक्न पाउने सहमति भएको छ ।
सामान खरिदको १५ देखि २० मिनेटसम्म पार्किङ गर्न दिने गरी सहमति गरिएको संघ कार्यबाहक अध्यक्ष न्यौपानेले बताए । ब्यवसायीको हकमा भने ‘नो पार्किङ’ क्षेत्रकै फराकिलो स्थानमा पार्किङको प्रवन्ध मिलाइने सहमति भएको उहाँको भनाइ छ । ‘नो पार्किङ’ क्षेत्रमा ब्यवसायीले समेत पार्किङ गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै उनीहरुको मोटरसाइकलमा स्टिकर टाँस्ने ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।
‘नो पार्किङ’ का विषयमा सहमतिपछि उपमहानगरका चार वडा अध्यक्षसहित मकवानपुर उद्योग वाणिज्य संघको टोली राप्तिरोडसहित क्षेत्रमा ब्यवसायीका लागि पार्किङस्थल पहिचान गर्ने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनका सबै कार्यक्रम स्थगित भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्