रोजगारीको लागि विदेशीन बाध्य हुने परिस्थितीको अन्त्य जरुरीः मन्त्री वराल



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीमा जानेलाई रोक्न नसकिने तर रोजगारीको लागि विदेशीन वाध्य हुने परिस्थितीको अन्त्य गर्न सकिने बताउनु भयो । मन्त्री वरालले वाध्यताले होईन रहरले वैदेशिक रोजगारीमा जाने अवस्था बनाउन सकिने धारणा राख्नु भयो ।
अहिले नेपाली युवा सस्तो मुल्यमा विदेशमा श्रम वेच्न वाध्य हुनु परेको छ भन्दै मन्त्री वरालले दक्ष जनशक्ति उत्पादन गर्न सकेमा राज्यलाई नै फाईदा हुने बताउनु भयो ।
युवाहरुमा वेरोजगारीको समस्या विकराल भएको बताउदै सकभर युवालाई स्वदेशमै रोजागारीको व्यवस्था गर्ने निति बनाईने उहाँले बताउनु भयो ।
युवा दिवशको अवसरमा सामाजिक विकास मन्त्रालयले आईतवार बुटवलमा आयोजना गरेको युवा सरोकार केन्द्रित अन्तरक्रिया कार्यक्रमा मन्त्री बरालले युवाहरु राष्ट्र निर्माणको आधार भएकाले उनिहरुको समस्याको विषयमा प्रदेश सरकार गम्भिर रहेको बताउनु भएको छ ।
विदेश गएका युवाहरुको सिप र प्राविधिक ज्ञानलाई स्वदेशमै प्रयोग गरेर मुलुकको विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको छ भन्दै उहाँले सामाजिक विकास मन्त्रालयले विदेशमा सिकेको सिपलाई प्रयोग गर्ने गरी युवामैत्रि निति बनाउने बताउनु भयो ।
युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न युवा वर्गसंग सहकार्य गरिने मन्त्री वरालले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय योजना महाशाखाका प्रमुख एवं प्रवक्ता मित्र मणि खनालले रंगशाला वाहेक ५ करोड ४२ लाख रुपैया युवा लक्षित बजेट तयार भएको बताउदै अन्तरक्रियावाट आएको सुझावको आधारमा रणनैतिक योजना तयार पारिने जानकारी दिनु भयो ।
सचिव थानेश्वर ज्ञवालीले प्रदेश नं ५मा युवाहरुको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दे प्रदेशमा १७ लाख ८१ ह्जार ८ सय १० युवाको जनसंख्या रहेका जानकारी दिनु भयो । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख हरिहर घिमिरे, युवा तथा खेलकुद शाखाका अधिकृत वेगम केसी, प्रदेश नं ५का अन्तर्गतका १२ जिल्लाका युवा जनप्रतिनिधी, राजनितिक दलका युवा संगठनका प्रतिनिधि, युवा सम्वन्धी काम गर्ने विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्