बिपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण



बिष्णु तिमिल्सिना, बर्दिया ।
बारबर्दिया नगरपालिका र बढैयाताल गाँउपालिकाका अपाङ्गता, गरीब, मुक्तकमैया, दलित तथा सिमान्तकृत र लोपोन्मुख वर्गका बालबालिकाहरुलाई शिक्षामा सहयोग पुर्याउनको लागि छात्रबृद्धि बितरण कार्यक्रम शुरु गरिएको छ । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस बाँकेको सहयोगमा मुक्तकमैया तथा सुकुम्बासी संगम समाजको आयोजना तथा मुक्तकमैया मिलन समाज बानियाभार र युवा उत्थान सामुदायिक मञ्च कालिकाको सहकार्यमा छात्रबृद्धि बितरण गर्न लागिएको हो ।
बारबर्दिया नगरपालिकाको लम्किफाँटामा छात्रबृद्धि बितरण कार्यक्रम शुरु गरीएको छ । साबिक धधवारमा ९ सय ७० जना, बानियाभारमा ९ सय १९ जना र कालिका गाबिसमा ८ सय ५९ जना गरी जम्मा २ हजार ७ सय ४८ जना बारबालिकाहरु छात्रबृद्धिबाट लाभाम्बित हुने कुरा मुक्तकमैया तथा सुकुम्बासी संगम समाजका कोषाध्यक्ष भूपाल सोनमले जानकारी गराउनु भयो ।
छात्रबृद्धि तीन वटै साबिक गाबिसका आधारभूत तहका १ हजार ५ सय ७० जना र माध्यमिक तहका १ हजार १ सय ७८ जना बालबालिकालाई छात्रबृद्धि बितरण गर्न लागिएको हो । उक्त छात्रबृद्धि आधारभूत तहका बिद्यार्थीहरुलाई प्रतिबिद्यार्थी ४ सय ५० रुपैया बराबरको सामग्री र माध्यमिक तहका बिद्यार्थीहरुलाई ६ सय रुपैयाँ बराबरको शैक्षिक सामाग्री रहेको कुरा कोषध्यक्ष सोनमले बताउनु भएको छ ।
उक्त छात्रबृद्धि आधारभूत तहका बालबालिकालाई रु ७ लाख ६ हजार ५ सय रुपैयाँ र माध्यमिक तहका बिद्यार्थीहरुलाई ७ लाख ६ हजार ८ सय गरी जम्मा १४ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ
बारबर्दिया नगरपालिका वडा नम्बर ११ को लम्की फाँटामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ११ कै वडा अध्यक्ष बिजय चौधरीले बिद्यार्थीलाई छात्रबृद्धि(शैक्षिक सामाग्री) प्रदान गरेर उद्घाटन गर्नु भएको थियो । उद्घान कार्यक्रमको सभापतित्व मुक्तकमैया तथा सुकुम्बासी संगम समाजका अध्यक्ष भक्तबहादुर बिश्वकर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्