दुम्सी मार्न खोज्दा आमाको मृत्यु, छोरा अर्धचेत



रामधन राई, खोटाङ ।
खोटाङमा दुम्सीलाई धुवाँ लगाउँदा खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी ४५ वर्षीया सरिता तामाङको मृत्यु भएको छ । छोराछोरीलाई साथमा लिएर दुम्सी मार्न भन्दै शनिबार बिहान घरबाट हिँडेकी सरिता स्थानीय डिउखोलास्थित ओढारमा मृत फेला परेकी हुन् ।
आमासँगै ओढारभित्र पसेका उनका ११ वर्षीय छोरा नवललाई अर्धचेत अवस्थामा फेला पारिएको स्थानीयले बताएका छन् । मृतककी छोरी ८ वर्षीया पुजनालाई भने प्रहरी र स्थानीयले सकुशल उद्दार गरेको छ ।
दुम्सी मार्न ओढारमा लगाइएको धुवाँमा निसास्सिएर सरिताको मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । निसास्सिएर बोल्न नसक्ने अवस्थामा पुगेका नवललाई हेलिकोप्टरमार्फत काठमाडौं पु¥याइएको छ ।
शनिबार बेलुका नै काठमाडौं पु¥याइएको उनको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्धचेत अवस्थामै काठमाडौं पु¥याइएको उनको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
दुम्सी मार्न भन्दै घरबाट निस्केका आमा र छोराछोरी अबेरसम्म घरमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले डिउखोलाको ओढारमा आगो बलेको र ओढार बाहिर जुत्ता चप्पल देखेपछि उनीहरु ओढारभित्र फसेको पत्ता लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्