ट्रकमा १ सय १३ किलो गाँजा लग्दै गर्दा एक व्यक्ति पक्राउ



हेटौंडा ।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागुऔषध १ सय १३ किलो गाँजासहित एक जनालाई आइतबार विहान पक्राउ गरेको छ ।
चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गइरहेको ना. ४ ख २९३ नम्बर कन्टेनर ट्रक र ट्रकचालक विष्णुभक्त श्रेष्ठलाई प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरीबाट नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पिछा गर्दै जाने क्रममा चितवन राप्तिनगर–४ बस्ने ४१ वर्षीय श्रेष्ठलाई गाँजासहित पक्राउ गर्न सफल भएको हो । कन्टेनरको पछाडिपट्टिको भागमा ६ वटा प्लाष्टिकको बोरामा राखेर लुकाइ ल्याएको ३५ वटा प्याकेटमा गरी १ सय १३ किलो गाँजा बरामद गरिएको हो । गाँजा ढुवानीमा प्रयोग भएको ट्रकका धनी र चालकसमेत श्रेष्ठ आफैं हुन् ।
बरामद गरिएको गाँजा र सवारी साधनसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको छ । गाँजाका मुख्य खरिद र बिक्री गर्ने व्यक्तिको खोजतलास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्