इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु



जकार्ता ।
इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।

पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो । करिब ४० मिनेटको मात्र उडानका लागि विमान शनिबार अपराह्न उडेको थियो । तर उडेलगत्तै विमान सम्पर्कबिहीन भएको थियो ।

इन्डोनेसियाको ओक्सिबील उपजिल्लाको एक घना जङ्गल भएको पहाडमा विमान खसेको थियो । विमानका भग्नावशेषहरु भेटिएको र उद्धारको काम जारी रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
तर सो विमानमा रहेका एकजना १२ वर्षीय यात्रु भने जीवितै रहेका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

पपुवाका सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियान्तुरीले भन्नुभयो– हामी दुर्घटनाग्रस्त भएको जहाजको भग्नावशेषसम्म नै पुग्न सफल भएका छौँ, त्यस दुर्घटनाबाट आठजनाको ज्यान गएको छ भने एकजना यात्रु जीवितै उद्धार गर्न सकिएको छ ।

सो विमान दुर्घटनाको कारण पत्ता लागेको छैन । विमान दुर्घटना बारे अनुुसन्धान गर्न उड्डयन केन्द्रले एक अनुसन्धान समिति गठन गरेको छ ।

उक्त विमान एक निजी कम्पनीको रहेको थियो । त्यसमा सात जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका थिए ।

उद्धारकर्ताहरु उक्त विमान खसेको स्थानमा पुग्न कम्तीमा पनि दुई घन्टा लागेको थियो । विमान खसेको स्थान देखेपछि पनि पहाडको निकै अप्ठेरोमा विमानका भग्नावशेष देखिएकोले त्यहाँ पुग्न पनि समय लागेको सैनिक अधिकारीले जनाएका छन् ।

इन्डोनेसियाको पपुवा प्रान्त निकै दुर्गममा रहेकोले त्यहाँ पुग्न नै कठिन हुने गर्दछ । उता इन्डोनेसियामा हवाई सुरक्षाको अवस्था निकै कमजोर रहेकोले बर्सेनि यहाँ हवाई दुर्घटनाबाट नागरिकको ज्यान जाने गरेको छ ।

सोही पपुवा क्षेत्रमा गत वर्षको जुलाइमा भएको एक सानो विमान दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०१५ को अगष्टमा पनि इन्डोनेसियामा भएको विमान दुर्घटनामा ५४ जनाको ज्यान गएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्