बैदेशिक रोजगारमा मृत्यु भएकाको पैसा अलपत्र



मोतीराम तिमल्सिना, काभ्रे ।
बैदेशिक रोजगारमा गएर त्यहि रहेकै समयमा मृत्यु भएको अवस्थामा त्यहि देशका सरकारले पठाएको रकम जिल्ला प्रशासनमा अलपत्र परेको छ ।
साविकको महादेवटार गाउँ विकास समिति ३ घर भएका छेडुप तामाङको बैदेशिक रोजगारको क्रममा २०७० साल मसिंर ७ गते कतारमै निधन भयो । कतार सरकारले उनको मृत्यु पछि परिवारलाई ९४ लाख ६६ हजार ८ सय २५ रुपैया पठाएको छ । २०७२ साल असार १३ गते उक्त रकम परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय काभ्रेमा आईपुग्यो । प्रशासनले उनको परिवार चमेली माया तामाङलाई भुक्तानी ग¥यो । श्रीमती चमेली माया महादेवटारबाट पाँचखालमा ब्यवसाय गर्दै आएकी छिन् । दुई पटक गरी प्राप्त उक्त रकम मध्ये पहिलो किस्तामा प्राप्त भएको ४६ लाख ६४ हजार रुपैया मध्ये ३० लाख छोराहरु मनोज तामाङ र सरोज तामाङको नाममा अरनिको बैक धुलिखेलमा राखिएको छ । बाँकी सबै पैसा चमेलिमायाले आफै खातामा राखेकी थिईन् । उक्त पैसा सदुपयोग भयो वा चमेलीमायाको अवस्था कस्तो छ ? जानकारी नभएको प्रशासनले बतायो ।

त्यस्तै दक्षिण कोरिया गएका साविक शंखु पार्टीचौर गाविस ४ का सुदिप राउतको कामकै सिलसिलामा निधन भयो । उनको निधन भए पछि त्यहाँको सरकारले सुदिपको परिवारका नाममा पहिलो किस्तामा २७ लाख ४५ हजार रकम पठायो भने दोश्रो किस्तामा ८६ हजार ८ सय ५५ रुपैया पठायो । सुदिपको एक मात्र छोरी थिईन । श्रीमती शुशिलाले उक्त रकम भुक्तानी लिन आए पछि छोरी सुप्रिया राउतको नाममा समेत रहने गरी प्रशासनले केहि रकम जम्मा गरिदिएको छ ।

ज्याम्दी ९ का भिमबहादुर लामाको कतारमा निधन भयो । २०७२ साल पुष १२ गते उनका नाममा ४५ लाख ४९ हजार ३ सय ५५ रुपैया प्राप्त भयो । श्रीमती अञ्जु तामाङ पाँचखाल ९ मा बस्दै आएकी छिन् । श्रीमानको मृत्यु पश्चात प्राप्त रकम मध्ये २२ लाख नाबालक छोरा बेन्जामिन तामाङको मुद्दती खातामा जम्मा भएको छ भने त्यसबाट प्राप्त हुने ब्याज रकम आमा अञ्जुकै नाममा भुक्तानी गर्ने गरी खाता खोलिएको छ । विदेशबाट आएका रकम लिन नआउनेहरु पनि थुप्रै छन् । थोरै थोरै रकम पनि सम्वन्धित देशको सरकारले नेपालको परराष्ट्र मार्फत सम्वन्धित जिल्लामा पठाउने गरेको छ । नाम र ठेगाना अस्पष्ट भएका कारण धेरै ब्यक्तिका आफन्तहरुले रकम प्राप्त गर्न सकेका छैनन । पहिला पहिला राहदानी बनाउँदा सम्पर्क नम्बर र ठेगाना समेत अस्पष्ट भएका कारण धेरै ब्यक्तिहरुको ठेगाना अस्पष्ट हुने गरेको थियो । एमआरपी बनाउन थालेपछि नेपालमा भएका ब्यक्तिहरुको सम्पर्क नम्वर समेत राख्ने प्रावधान भएपछि सरोकारवालाहरुले त्यहि नम्बरका आधारमा आफन्तलाई सम्पर्क गर्न सहज भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा ठेगाना अस्पट भएका टेकनपुर ६ का भोगबहादुर तामाङको नामबाट २७ हजार ४ सय ७८, हिलेखोला ७ घर भएका गणेशप्रसाद दुलालको नामबाट २२ हजार ९ सय २१ रुपैया प्राप्त भएको छ । यि दुबै स्थान काभ्रेपलाञ्चोक जिल्लामा छैनन । त्यस्तै शारदाबतासे गाविस ८ का कुलबहादुर क्षेत्रीको ३८ हजार १ सय २९, माझिफेदा २ का हर्कबहादुर श्रैष्ठको ३१ हजार १ सय २६, साँगाचोक ४ का निराजन गिरीको ६९ हजार २ सय २५ रुपैया, शिखरआम्बोटे ९ का विरबहादुर थोकरको ६ हजार १ सय ४५ रुपैया प्राप्त भएको छ । उनिहरु सबैले कामको सिलसिलामा विभिन्न देशमा ज्यान गुमाईसकेका छन् । त्यस्तै बनेपा २ का विक्रम माझी उनको साविकको ठेगाना चण्डेनी मण्डन ९ रहेको थियो । साउदी अरव गएका माझीको १ लाख ४२ हजार रुपैया प्राप्त भएको छ । पनौती गैरीगाउँका इश्वरबादुर केसीको ४ लाख ५० हजार ९ सय २०, बनखु ९ का प्रेमबहादुर घलानको ३७ हजार ९ सय ४० रुपैया, लेम्बाबेशी ९ की सानुकान्छी तामाङको ४९ हजार १ सय ७५ रुपैया, धुशेनी ८ का दिलीपप्रसाद पोखरेलको ८९ हजार ३२ रुपैया प्राप्त भएको छ । काभ्रेकै जयराम दाहालको ५६ हजार ६ सय ९४ रुपैया प्राप्त भएको छ भने रामपुर ६ की लबकुमारी ठकुरीको ६४ हजार ३ सय २३ रुपैया प्राप्त भएको छ ।

मृतकका नाममा प्राप्त भएको १० लाख भन्दा धेरै रकम जिल्ला प्रशासन कार्यालयको खातामा थन्किएको छ । झण्डै करोड रुपैया बुझेर लगेको परिवारले पनि रकमको सदुपयोग गरेको छैन । बैदेशिक रोजगारमा गएका ब्यक्तिहरुको पारिवारीक विखण्डन, विछोड र मृत्यु समेत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्