एसियाली युवा प्रोत्साहन अवार्डबाट लामा सम्मानित



काठमाडौं ।
सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । उहाँले दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताउनुभएको हो ।
राष्ट्रिय सभा गृहमा शनिबार ग्लोबल युथ पार्लियामेन्ट नेपालद्धारा आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन गर्नुहुँदै सभामुख महराले दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्यहरु हाँसिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

‘विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो’, उहाँले भन्नुभयो, ‘यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३०’ पारित गरिएको छ ।’ उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको बताउँदै सभामुख महराले भन्नुभयो,‘युवाहरु आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ बढ्नुपर्छ । उद्यमशीलताले रोजगारीको सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्छ ।’

लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतिसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्नुहुँदै सभामुख महराले विकासका साझा मुद्दाहरुमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताउनुभयो ।कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरु, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुङ्गेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न देशका युवाहरुलाई सम्माान गरिएको छ । बालकालिकाहरुको क्षेत्रमा लामो समयदेखि नेपालमा काम गर्दै आएको ज्योतिको घर नेपालका अध्यक्ष विजय लामालाई सम्मान गरिएको छ । ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’बाट समाजिक क्षेत्रमा योगदान दिएको भन्दै सभामुख कृष्णबहादुर महराले अध्यक्ष लामालाई एसियन युथ इन्स्प्रियसन अवार्डबाट सम्मान गर्नुभएको हो ।

ग्लोबल युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्यालका अनुसार नेपालका सात जना, भारत, भुटान, बंगलादेश, श्रीलंका, दाइवान,फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसिया, थाइल्याण्ड र सिंगापुरका एक÷एक जना युवालाई एसियाली युवा प्रोत्साहन अवार्ड प्रदान गरिएको हो ।
ग्लोबल युथ पार्लियामेन्ट नेपालले आयोजना गरेको दुई दिने ‘एसियन युथ एसेम्ब्ली २०१८’ मा २३ वटा एसियाली मुलुकका प्रतिनिधिहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्