प्रजिअ सामु पुल निर्माणमा ढिलाईको गुनासो



लमजुङ ।
लमजुङका स्थानीयबासीले पुल निर्माणमा ढिलाई भएकोप्रति प्रमुख जिल्ला अधिकारीका सामु गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङले दोर्दी गाउँपालिका– ४ नौथर शेरामा आयोजना गरेको प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा सो भेगका स्थानीय बासीहरूले त्यस्तो गुनासो पोखेका हुन् ।
बेसीशहर नगरपालिका– ११ र दोर्दी गाउँपालिका– ४ जोड्ने गरी दोर्दी खोलामा निर्माण थालिएको मोटरेबल पुल सम्पन्न गर्न ढिलाई भएको भन्दै स्थानीयले गुनासो गरेका हुन् । सो पुल चार वर्ष अघि निर्माण भैसक्नु पर्ने हो तर ठेकेदारको लापरवाहीले अझै आधा काम पनि सकिएको छैन । त्यसैले जिल्लामा अख्तियरको समेत अधिकार प्राप्त गर्नु भएका प्रजिअका सामु स्थानीयबासीले त्यस्तो गुनासो गरेका हुन् । 
दोर्दी गाउँपालिका– ४ नौथर निवासी कुमराज गुरुङले गुनासो पोख्दै भन्नुभयो, पुल निर्माण सुरु भएको ८ वर्ष वित्यो पुल नबन्दा सिंगो गाउँपालिका बासीलाई आवतजवात तथा खाद्यन्न ढुवानी लगायतमा समस्या परेको छ । ‘हिउँदमा हयुम पाइप राखेर गाडी वारपारि गरियो । बर्षा लागेपछि सबै डुब्यो, ढुवानी रोकियो, पुल कहिलेसम्म बन्छ होला ?’ उहाँल े प्रश्न गर्नु भयो । त्यसैगरी, दोर्दी गाउँपासिलका– ४ शिख्राका रविन्द्र अधिकारीले पनि पुल नबन्दा दोर्दी क्षेत्रका साविकको नौथर, पाचोक, गौंडा, ढोडेनी, फलेनी लगायतका स्थानीयलाई आवतजावत, खाद्यान्न ढुवानीमा समस्या परेको भन्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल समक्ष पुल निर्माण छिटो भन्दा छिटो सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिन वा त्यो ठेकेदार कम्पनीलाई कारबाही गरी अर्को ठेकेदारमार्फत निर्र्माणको काम गराउन आग्रह गनुए भयो ।
कार्यक्रममा सोही गाउँपालिका– ५ पाचोककी प्रतिभा गुरुङले प्रहरीले घरघरै आएर घरेलु मदिरा नष्ट गर्नले आफुहरू मर्कामा परेको गुनासो गर्नु भयो । उहाँले गुरुङ जातिले परापूर्वकालदेखि संस्कार संस्कृतिका साथै जन्मदेखि मृत्यु संस्कारसम्म घरेलु मदिरा चलाउने प्रचलन रहेकोले यसलाई नियन्त्रण गर्ने नाउँमा जवर्जस्ती नगरियोस् भन्नुभयो ।
कार्यक्रममा सहभागिले विकास निर्माण छिटो र पारदर्शी रुपमा अघि बढ्न नसकेको गुनासो गरे । दोर्दीकै कल्याण अधिकारीले आफु भुकम्पपिडित भएपनि आफ्नो नाम समावेश नभएको र गुनासो गर्दा समेत सुनुवाई नभएको प्रजिअ समक्ष गुनासो गर्नु भयो । उहाँले भन्नुभयो, ‘भुकम्पले घर भत्कीएर चिराचिरा परेको छ तर आफुसँग भर बनाउने क्षमता नहुँदा भुकम्प गएको ३ वर्ष वित्दा समेत भत्केकै घरमा बस्न बाध्यता छ ।’
सो अवसरमा स्थानीयले बजार अनुगमन बढाउनुको साथै बाहिरबाट आउने सामग्रीको चेकजाँच, लागुऔषध दुब्र्यसनको रोकथाम, मदिरा विक्रिवितरण र घरेलु हिंसाको रोकथाममा प्रहरीले सक्रियता बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जल्लास्तर र स्थानीयस्तरबाट गुनासालाई सम्बोधन गरि कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले स्थानीयलाई आफुलाई परेका समस्याको बारेमा प्रशासन र प्रहरी समक्ष समय समयमा निर्धक्क जानकारी गराउन आग्रह गर्नुभयो ।
प्रहरी नायव उपरीक्षक यादव ढकालले जिल्ला प्रहरी कार्यालयले गरेका शान्ति सुरक्षा र अनुसन्धानबारे जानकारी गराउँदै जिल्लामा सामाजिक विकृति र लैंगिक हिंसा बढ्दै गएकाले त्यसको रोकथामका लागि नागरिकहरूको सहयोग अपेक्षित हुन्छ भन्नुभयो । उहाँले प्रहरी र नागरिकविच सम्बन्ध बढाउन हरेक तीन÷तीन महिनामा नागरिक सुनुवाई कार्यक्रम गर्ने गरिएको जानकारी दिनु भयो ।
दोर्दी गाउँपालिका– ४ का वडाध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त पाण्डेले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्