स्वच्छ हावा नपाई नाकै बिग्रिएला कि ?



प्रधानमन्त्री खड्गप्रसाद ओलीले अब २ वर्षपछि मानिसहरू स्वच्छ हावा सेवन गर्न काठमाडौं आउनेछन् भनेको सुन्दा धरहरालाई यति धेरै खुसी लाग्यो कि त्योभन्दा कम खुसी ओली भए होलान्। तर त्यतिबेलासम्म दुर्गन्धले काठमाडौंबासीको नाकले नै काम नगर्ने अवस्था आउन सक्छ।

जे पनि गर्छु भन्ने अनि नगर्ने आफ्नो कूटिल चाल छ भन्ने बुझेका ओली फेरि एकपटक जनतालाई भ्रम छर्न भने सफल भएका छन्। काठमाडौं अस्तव्यस्त र दुर्गन्धित भइरहेका बेला ओलीको यो भनाइ सुनेपछि महानगरबासीका कान त पवित्र नै भए सँगसँगै आपसी कानेखुसी गर्दै नाक पनि आफूअनुकूलको शासन व्यवस्था शुरू हुन लागेकामा धेरै गद्गद् भए। सधैंको दुर्गन्ध र फोहोरले हिँड्ने ठाउँसम्म नभएको काठमाडौंबासी जसले जे दिन्छु भने पनि आश गर्छन् तर आश्वासनमाथि घातबाहेक केही भएको छैन। धूँवा धुलो र अन्य प्रभावले मानिसको आयु घट्दै गएको छ। उनीहरू २ वर्षसम्म बाँचे भने त ओलीको जयजयकार नै गाउँछन् होला तर यो मौका आउलाजस्तो छैन।

उनले गफ त दिएका छन् तर त्यसलाई सार्थक बनाउने अहिलेसम्म कुनै प्रयास नहुँदा धरहराको टुप्पोबाट बालुवाटारतिर हेर्दा राम्रो छनक देखिँदैन। दुई तिहाइको संख्या छ भन्ने दम्भ कसैका लागि तर्साउन र गिज्याउनका लागि होइन, जनताले आज र अहिले नै काम होस् भन्ने चाहेका छन्। अरु काम त विपक्षीले गर्न दिएनन्, यो भयो त्यो भयो भनेर ढाँटिहाले पनि जनताले पत्याउँछन् तर ओली काम्रेडको यो योजना सफल भए विपक्षीका नाकलाई पनि शितल हुने भएकाले ‘स्वच्छ हावा सेवन गर्ने विधेयक, २०७५’ ल्याए त कांग्रेसले पनि संसद् अवरोध नगर्ला कि।

प्रतिक्रिया दिनुहोस्