बजारमा बोनस र हकप्रद शेयर थपिँदै



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको पहिलो महिनामा विभिन्न पाँच वटा कम्पनीले बोनस शेयर वितरण गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका छन्। आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव बोर्डमा पेश गरेपछि स्वीकृति पाएका हुन्।

बोर्डका अनुसार करिब २ अर्ब ७५ करोड ५७ लाख रुपियाँ बराबरको २ करोड ७५ लाख ५७ हजार कित्ता बोनस शेयर वितरण गर्न स्वीकृत दिएको छ। जसमध्ये सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५६४ कित्ता, हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस शेयर स्वीकृत भएको छ। त्यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार कित्ता, युनाइटेड फाइनान्सको १२ लाख ७८ हजार कित्ता तथा सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७६ हजार कित्ता बोनस शेयर वितरण गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ।

यसैबीच पुँजी बजारमा शेयर थपिने क्रम जारी छ। पछिल्लोपटक ७ वटा कम्पनीले हकप्रद शेयर बिक्री गरिहेका छन् भने ४ वटा कम्पनीको हकप्रद बिक्री खुल्ला हुने तयारीमा रहेको हुँदा नेपाल स्टक एक्सचेन्जमा शेयर परिणाम बढ्न पुगेको हो।

हकप्रद शेयर बिक्री खुल्ला गरेकामा जेबिल्स फाइनान्स अगाडि छ। कम्पनीले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर असार १० गतेदेखि बिक्री खुल्ला गरेको छ। कम्पनीको हकप्रद शेयर साउन २८ गते निष्काशन बन्द हुनेछ। त्यस्तै सिनर्जी फाइनान्सले १ बराबर शून्य दशमलव २५ को अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर असार २५ गतेदेखि साउन २७ गतेसम्म खुल्ला रहेको छ। मिर्मिरे माइक्रोफाइनान्सको १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर र समता माइक्रोफाइनान्सको २ बराबर १ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर असार २७ गतेदेखि बिक्री खुल्ला भई साउन २९ गते बन्द हुँदैछ।

यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १० बराबर ६ को अनुपातमा साउन १ गतेदेखि भदौ ४ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको छ। साथै नागवेली लघुवित्त विकास बैंकको १ बराबर १ को अनुपातमा साउन ४ गतेदेखि भदौ ७ गतेसम्म खुल्ला भएको छ।स्वरोजगार लघुवित्त वित्तीय संस्थाको पनि १ बराबर १ को अनुपातमा साउन १३ गतेदेखि भदौ १७ गतेसम्म हकप्रद जारी भएको छ। शेयर जारी गर्नेमा अन्य कम्पनीमा नयाँ नेपाल लघुवित्त विकास बैंकले साउन २७ गतेदेखि भदौ ३१ गतेसम्म १ बराबर २ दशमलव ५ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गर्दैछ।

त्यस्तै गरी सिटी एक्सप्रेस फाइनान्सको १ बराबर १ दशमलव ६७ को अनुपातमा हकप्रद शेयर भदौ १ गतेदेखि असोज १ गतेसम्म बिक्री खुल्ला हँुदैछ। उता नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २ बराबर १ को अनुपातमा ५० प्रतिशतको हकप्रद शेयर भदौ ४ गतेदखि असोज ७ गतेसम्म बिक्री खुल्ला रहने छ। प्रोगे्रसिभ फाइनान्सको १ बराबर २ दशमलव ८१ को अनुपातमा हकप्रद शेयर भदौ ५ गतेदेखि असोज ८ गतेसम्मलाई खुल्ला हुनेछ।

प्रतिक्रिया दिनुहोस्