प्रदेश सरकारले शुशासन प्रवद्र्धनमा जोड दिनुपर्नेःमन्त्री बोहरा



राम धामी, डडेल्धुरा ।
प्रदेश ७ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिँह बोहराले जनउत्तरदायी आम सञ्चार माध्यमहरुले प्रभावकारी पत्रकारिता मार्फत समाज परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने बताएका छन ।

शनिबार डडेल्धुरा सदरमुकामस्थित सामुदायिक रेडियो अमरगढीको नवौ वार्षिकोत्सव समारोहको प्रमुख अतिथीका हैसियतले उद्घाटन गर्दै मन्त्री बोहराले बार्षिकोत्सवका अवशरमा डडेल्धुरास्थित बाल मन्दिर र हिंसामा परेका महिलाहरुका लागि निर्मित सुरक्षित आवास गृहका समस्या उजागर गरेर रेडियोले जनउत्तरदायी आमसञ्चार माध्यमका रुपमा आफुलाई उभ्याएकोमा खुसी ब्यक्त गरे ।

स्थापना देखिनै रेडियो अमरगढीले आफुलाई स्वच्छ, निर्भिक र निष्पक्ष सञ्चार गृहका रुपमा विकास गरिरहेको स्मरणगर्दै मन्त्री बोहराले रेडियो अमरगढी प्रदेश नं. ७ कै उत्कृष्ट समाचार माध्यमका रुपमा विकसित हुनसक्ने बताए । मन्त्री बोहराले पछिल्लो समयमा पत्रकारिताले पेशागत निष्ठा र मर्यादा गुमाउन थालेको जिकिरगर्दै प्रभावकारी पत्रकारिता मार्फत स्थानीय सरकारलाई शुशासन मैत्री बनाउन सकिने बताए ।

जनताको घर नजिकको सरकार भएकाले स्थानीय सरकार जनमैत्री हुनुपर्ने बताउदै उनले स्थानीय तहका जनप्रतिनिधीहरुले विधी पद्धतीको विकास गरेर कार्यान्वयनमा जोड दिन सकेमात्रै आम नागरिकले नजिकको सरकार भएको अनुभुती गर्ने भएकाले स्थानीय सरकारले शुशासन प्रवद्र्धनमा जोड दिन आबश्यक रहेको औल्याए ।

संघीयता पुर्ण रुपमा कार्यान्वन हुन शुरुवात भईरहेका समयमा बिभिन्न वहानामा संघीयता विरोधी तत्व सक्रिय रहेको बताउदै मन्त्री बोहराले संघियता पुर्ण रुपमा कार्यान्वयन हुन समय लाग्ने भएकाले अहिलैनै हतास हुन नहुनेमा जोड दिए ।

कार्यक्रममा रेडियो अमरगढीलाई शुभकामना दिदैं कार्यक्रमका विशिष्ठ अतिथी जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले मौफसलमा पत्रकारिता निकै चुनौतीपुर्ण बन्दै गएकाले स्थानीयस्तरमा पत्रकारिताको विकासका लागि स्थानीय तहबाट योजनावद्ध रुपमा काम हुनुपर्ने औल्याए ।

कार्यक्रममा विचार ब्यक्तगर्दै पाटन नगरपालिकाका प्रमुख केशबबहादुर चन्दले स्थानीय सरकारलाई शुशासन र जनमैत्री बनाउनका लागि संघ र प्रदेश सरकारले शुशासन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । “स्थानीय तहले जतिसुकै प्रयत्न गरेपनि शुशासन प्रवद्र्धनका लागि माथिबाटै पहल हुन आबश्यक छ ।” पुर्व राज्यमन्त्री समेत रहेका नगरप्रमुख चन्दले भने, “संघीय सरकारबाटै पहल हुन नसके सम्म मुलुकमा शुशासन प्रवद्र्धन सम्भव छैन ।”

कार्यक्रममा बोल्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले रेडियो अमरगढी सामाजिक परिवर्तनका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउदै सामाजिक उत्तरदायित्व वहन गर्ने लोकपृय सञ्चार माध्यमका रुपमा आफुलाई विकसित गरिरहेको बताए । कार्यक्रममा बोल्दै पुर्व सभासद ज्ञानु गैरेले रेडियो अमरगढीले समाजमा व्याप्त बिभिन्न खाले विभेदहरुको अन्त्यका लागि चेतना अभिवृद्र्धीमा महत्वपुर्ण भूमिका निर्वाह गरेको बताइन ।

कार्यक्रममा डोटीको शिखर नगरपालिकाका नगरप्रमुख सिताराम जोशी, अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा, आर्दश गाँउपालिका डोटीका अध्यक्ष टेक रोकाया, सायल गाँउपालिका डोटीका अध्यक्ष टेजबहादुर डुम्रेल, बझाङको केदार स्युँ गाँउपालिकाका अध्यक्ष इन्द्र भण्डारी, बझाङकै वित्थड चीर गाँउपालिकाका अध्यक्ष प्रेम बोहरा, गाँउपालिका महासंघका केन्द्रीय सदस्य तथा बैतडीको शिवनाथ गाँउपालिकाकी उपाध्यक्ष कुष्मा चन्द, पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मानबहादुर साँउद, जिल्ला अदालत बार इकाई डडेल्धुराका अध्यक्ष बिष्णु भट्ट, गैर सरकारी संस्था महासंघ डडेल्धुराका अध्यक्ष टेकराज पाण्डेय लगायतले रेडियो अमरगढीको उत्तरोत्तर प्रगतीका लागि शुभकामना ब्यक्त गरेका थिए ।

रेडियो अमरगढीका प्रबन्धक छत्र साँउदको अध्यक्षतामा सम्पन्न औपचारिक समारोहमा स्थानीयस्तरमा ख्यातीप्राप्त कलाकार तथा संस्कृतिकर्मीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । औपचारिक समारोहकै क्रममा प्रभावकारी आम सञ्चार, शुशासन र जनमैत्री स्थानीय सरकार बिषयक वृहत अन्तरकृया कार्यक्रम समेत सम्पन्न भएको छ । अन्तरकृया कार्यक्रममा पत्रकार राम धामीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रेडियो अमरगढीका संस्थापक अध्यक्ष गजेन्द्र शाहीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन रेडियो अमरगढीका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्