गुणस्तरहीन खाद्य उत्पादन गरेको भन्दै खाद्य प्रविधिद्वारा ५० बोरा ‘चिप्स’ नष्ट



सीताराम चौधरी, कपिलवस्तु ।
‘निशा छोटा भिम’ र ‘बलबीर’ बालबालिकाले सबैभन्दा बढी रुचाउने ‘चिप्स’ हो । तर मानव स्वास्थ्यमाथि प्रत्यक्ष असर पार्ने गरी यसको उत्पादनमा न्यून गुणस्तरको पाइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित निशा फुड प्रोडक्टबाट उत्पादित ‘निशा छोटा भिम’ र ‘बलबीर’ नामक चिप्स न्यून गुणस्तर पाइएको हो ।
केही दिनअघि शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई एक अपरिचित व्यक्तिले फोन गरी निशा फुड प्रोडक्टको उत्पादनमा जनगुनासो आएको जानकारी दिएपछि परीक्षण गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा प्रयोगशाला पठाइएको थियो । “ल्याबमा परीक्षण गर्दा निशा फुडको विभिन्न उत्पादनमध्ये ‘निशा छोटा भिम’ र ‘बलबीर’ न्यून गुणस्तरको पाइयो”–खाद्य अनुसन्धान अधिकृत निरत कटुवालले जानकारी दिनुभयो ।
न्यून गुणस्तर पाइएको ५० बोरा ‘निशा छोटा भिम’ र ‘बलबीर’ नामक चिप्स शनिबार नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा, शिवराज नगरपालिका र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले सो चिप्स नष्ट गरेको हो । ‘निशा छोटा भिम’ र ‘बलबीर’ नामको दुई उत्पादनमा बाह्य गन्ध पाइनुका साथै एसिड भ्यालु र पेरोक्साइड भ्यालुको मात्रा बढी पाइएकाले स्वास्थ्यका लागि हानिकारक भएको खाद्य अनुसन्धान अधिकृत कटुवालले बताउनुभयो ।
न्यून गुणस्तरयुक्त सो चिप्स प्याकेटबाट सबै खोलेर प्लास्टिक बोरामा भरी बेलनदीमा लगी नष्ट गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख जगदीश अर्यालले जानकारी दिनुभयो । मानव स्वास्थ्यमाथि प्रत्यक्ष असर पर्ने खाद्य सामग्री उत्पादन गरेका कारण नियन्त्रणमा लिई नष्ट गरिएको प्रशासन प्रमुख अर्यालले बताउनुभयो । गुणस्तरहीन खाद्य सामग्री उत्पादन र विक्रीवितरण नगर्न समेत प्रशासन प्रमुख अर्यालले चेतावनी दिनुभयो ।
न्यून गुणस्तर खाद्य चिप्स नष्टका क्रममा शिवराज नगरपालिकाका कार्यपालिका सदस्य शान्ता सेन, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक शंकर न्यौपाने तथा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी टोलीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्