आँखै लोभ्याउने ‘आँखा पोखरी’



रामधन राई, खोटाङ ।
उसै पनि प्राकृतिक सौन्दर्यले हराभरा महुरे । किराती इतिहासको धरोहर महुरेगढी । उत्तरतिर छर्लङग हिमाल अनि तरेली पहाडी श्रृंखलाको रसिलो दृश्यपान गर्न सकिने प्राकृतिक कलाले रंगिएको हरियो डाडाँ ।
मध्यपहाडी लोकमार्ग र सगरमाथा लोकमार्गको दोभान अर्थात संगमस्थल । हरेक वर्ष साउन २ गते राँकेको दिन राँके बजार लाग्ने भएकोले ‘राँके डाँडा’ उपनाम बोकेको रमणीय डाँडा । केही बर्षअघि निर्मित सुन्दर पार्क समेत रहेको स्थान । त्रीधार्मिकस्थल हलेसी, किराती सभ्यताको उद्गम थलो तुवाचुङ अनि रमणीय रुपाकोटको परिपुरकको रुपमा खडा छ महुरेगढी ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढीमा निर्मित आँखै लोभ्याउने ‘आँखा पोखरी’ले सौन्दर्यमा थप निख्खरता दिलाएको छ । हालै निर्मित उक्त आँखा आकारको पोखरीले आन्तरिक तथा बाह््य पर्यटकको आँखा र मन तान्न थालेको छ । नगरपालिकाको ४३ लाख तथा स्थानीयवासीको आठ लाख रुपैंयाँ बराबरको जनश्रमदान गरी ५१ लाखको लागतमा निर्मित पोखरीको औपचारिक उद्घाटन भईसकेको छ ।
३२ मिटर लम्बाई रहेको पोखरीको बीच भागमा ब्रिज डाईनिङ बनाईएकामा दाँया र बाँया आकर्षक ढंगले कृतिम पानीको फोहोरा छोडिएको छ ।

ब्रिज डाईनिङको माथिबाट सेन्सर विजुलीबत्ती र डिजिटल वोर्ड राखिएको पोखरीको नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । राजनीतिक दलका नेताहरुको समेत उपस्थिती रहेको उद्घाटन कार्यक्रमका वक्ताहरुले ऐतिहासिकस्थलमा पोखरी निर्माण गर्नुले पर्यटकीयस्थलको थप शोभा बढेको बताएका छन् ।

उक्त पोखरीमा नगरको समग्र वस्तुस्थिति झल्कने तस्विरहरु राख्ने तयारी समेत गरिएको नगर प्रमुख रिजालले बताउनुभएको छ । नगर प्रवेशद्वारमा सांकेतिक रुपमा आँखा आकारको पोखरी बनाइएको रिजालको उक्ति छ । पोखरीमा आइपुग्ने जो कोहीले यो नगरपालिका कस्तो छ र कहाँ के छ भन्ने प्रष्ट देख्न सक्ने गरी तस्बिरहरु राख्ने तयारी गरिएको नगर प्रमुख रिजालको भनाई छ । हलेसी तुवाचुङ नगरपालिका र दिक्तेलरुम नगरपालिकाको सिमाना नजिकै रहेको पोखरी नगरकै १४ नम्बर वडा बुइपा प्रबेश गर्ने स्थानमा अवस्थित छ ।

वि.सं. १८३० मा भुमराजले राईले निर्माण गरेको पोखरीलाई आधुनिकता दिइएको पोखरीमा पाइपबाट ल्याइएको शुद्ध पानी प्रयोग गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले जनाउनुभयो । पोखरीमा रङ्गीन माछा समेत राखिने अध्यक्ष राईको बताउनुभयो ।
महुरेगढीमा संसारमै नभएको मान्छेको आँखा आकारको पोखरी निर्माण भएपछि हेर्ने र सेल्फी खिच्ने मान्छेको भीड लाग्न थालेको स्थानीय बताउँछन् । महुरेगढी दिक्तेल–हलेसी र दिक्तेल–गाईघाट सडकको संगमस्थलमा पर्छ ।

ऐतिहासिक एवम् पर्यटकीयस्थल महुरेगढीमा पोखरी निर्माण गरेपछि आन्तरिक तथा वाह्य पर्यटकको केन्द्रबिन्दु बन्ने वडा अध्यक्ष भीम राईले बताउनुभययो । महुरेगढीमा यसअघि पनि आन्तरिक तथा बाह्य पर्यटकको भुईंचो लाग्थ्यो ।
महुरेगढीमा विशेषगरि हिमश्रृङ्खला, तराईका फाँट र लालीगुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । महुरेगढी आउने पर्यटकलाई थप मनोरन्जन दिलाउँदै नगरपालिकाको आन्तरिक आयश्रोत बृद्धि गर्ने उद्देश्यले अन्य ठाउँमा निर्माण भएको भन्दा छुट्टै मानिसको आँखा आकारको पोखरी निर्माण गरिएको हो ।

महुरेगढी समुन्द्री सहतदेखि करिब दुई हजार २०० मिटर उचाईमा पर्छ । महुरेगढीमा निर्माण गरिएको पोखरी आसपासमा पिकनिक स्पोर्टस लगायतका भौतिक संरचना समेत निर्माण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्