गल्ती अनुसारको कारबाही हुन आवश्यक: ट्रिपर ब्यवसायी संघ



पुष्कर बुढाथोकी, भक्तपुर ।
दिउँसोको समयमा उपत्यका भित्र ट्रक तथा ट्रिपर गुडाउन निषेध गर्दा व्याबसायी र उपभोक्ता मारमा परेको भन्दै उपत्यकाका ट्रक, टिप्पर ब्यवसायीहरुले निषेध खारेज गर्न सरकारसंग माग गरेका छन् ।व्यावसायीले भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरि दिउँसो ट्रक, टिप्पर संचालनमा रोक लगाउँदा व्यावसाय धरापमा परेको बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै भक्तपुर ट्रक तथा टिपर ब्यवसायी संघका निर्वतमान अध्यक्ष नबिन प्रजापतिले सरकारले दिउँसोको समयमा निर्धाणका सामाग्रीहरु ईटा, बालुवा, ढुङ्गा, गिट्टी बोकेर चल्न नदिने र रातीको समयमा मात्र चलाउँदा ढुवानीका समयमा ध्वनी प्रदुषण भएर स्थानीयले विरोध गर्ने गरेकोले ढुवानी मै समस्या परेको बताउनुभयो ।

उहाँले अहिले पनि माग अनुसारको निर्माण सामाग्री दिन नसकिरहेको अबस्थामा दुर्घटना न्यूनिकरणको नाममा याताउातका साधनलाई नै दिउँसो निषेद गर्दा निर्माण सामाग्रीको मूल्य समेत आकाशिएको बताउनुभयो ।व्यावसायीले निर्माण सामाग्रीको मूल्य बढाउँन थालेकोले उपभोक्तालाई निकै मार परेको बताउँदै उहाँले अब्याबहारिक निर्णय सच्याएर निषेध हटाउँदै अन्य बिकल्प सोच्च माग गर्नुभयो । उहाँले भन्नुभयो–“टाइम कार्ड लागू गर्दा सरोकारवालाहरुसंग छलफल नै गरिएन, हाल उपत्यकामा दैनिक २२ सयदेखि २५ सयसम्म टिप्पर गुडिरहेका छन्, यस्तै अबस्था रहे, आगामी दिनमा थप २५ सय टिपर आयत गर्नुपर्ने बाध्यता हुन्छ, यसले एकातिर नेपाली पूजीँ विदेशिन्छ, अर्कोतर्फ निमार्ण सामाग्रीको मूल्य आकाशिन्छ,।”

सरकारको करको द्धैध कर नितीका कारण गाडी ब्यवसायीलाई आर्थिक बोझ थप्नुका साथै रातीको समयमा मात्र मिनि ट्रिपर, ट्रिपर, ट्रक चलाउँदा जोखिम अझै बढ्ने, सामान समयमा ढुवानी नहुँदा विकास निर्माणको कार्यको गति ढिलो हुने तर्फ सरकारको ध्यान जानु जरुरी रहेको बताउँदै प्रजापतिले मेशिनरी सामानलाई अत्याधिक उपयोग गरी मुनाफा लिनु पर्ने ठाउँमा सिमित समयमा मात्र संचालन गर्न पाउने निति नियमले ब्यवसायी विस्थापित हुने गुनासो गर्नुभयो ।

कार्यक्रममा भक्तपुर ट्रक ब्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले सरकारले ब्यवासायी कमजोरी देखाएर निषेधको उपाय अबलम्बन गरेपनि त्यो स्थायी उपाय नभएको बताउनुभयो । उहाँले भन्नुभयो–“सरकारले समस्याको बैकल्पिक समाधानको उपाय खोज्नु पर्नेमा व्यावयाय संचालनमा नै निषेध लगाएको छ, यसले उपभोक्तादेखि सरकारसम्मलाई नोक्सानी पुर्याउँछ, यसमा सरकारले पुर्नविचार गर्नुपर्छ ।”

काभ्रे पनौतीको रोशी खोला, मेलम्चीबाट हेङ्गोपाटी भई ० किलोसम्म आउने बाटो साँझ ६ बजेबाट बिहान ७ बजेसम्म मिनि ट्रिपर, ट्रिपर, ट्रक चलाउन स्थानीय बासिन्दाले रोक लगाएको र सिन्धुली जिल्ला सुरक्षा समितिले विहान ५ बजेबाट बेलुका १० बजेसम्म मिनि ट्रिपर, ट्रिपर, ट्रक चल्न पूर्ण प्रतिबन्ध लगाएको छ उहाँले भन्नुभयो,यस्तो अबस्थामा ती स्थानबाट निर्माण सामग्री लिएर काठमाडौं आउने गाडी काठमाडौं उपत्यकामा सामान अनलोड गर्दासम्म रातको १÷२ बजिसक्छ । अनलोड पश्चात गाडी भोलीपल्ट विहान ५ बजेभित्र उपत्यकाका नाकाहरु पार गरिसक्नु पर्ने बाध्यात्मक अबस्थाका कारण चालकले राम्रोसँग सुत्न र आराम गर्न समेत नपाउँदा यसले झन सवारी दुर्घटना बढ्ने हो कि भन्ने चिन्ता बढेको छ ।

कार्यक्रममा बाग्मती टिप्पर ब्यवसायी संघका अध्यक्ष शेर बहादुर कुँवरले रात्रीकालिन समयमा मात्र टिप्पर चलाउन दिनु झनै खतरनाक रहेको बताउँनुभयो । उहाँले यसो गर्दा सवारी चालकलाई आरामको समय समेत नमिल्ने दिउँसोभर सामानको खोजी गर्नुपर्ने, रातीमा ढुवानी गर्नुपर्ने र राती नै फर्कनु पर्ने बाध्यताले व्याबसायी, उपभोक्ता मारमा परेको बताउनुभयो । रातको समयमा निर्माण सामाग्री उत्पादन हुने उद्योगहरु बन्द हुने भएकोले उद्योगबाट उत्पादित सामाग्री दिउँसो लोड गरी रातीसम्म डिटेनमा बस्नु पर्ने साह्रै अब्यवहारिक अवस्था सृजना भएको उहाँको भनाई छ ।

रातीमात्र सवारी साधन चलाउनु पर्ने बाध्यात्मक अबस्थामा परिवार भएका चालकहरु पलायन हुने भएकाले दक्ष चालकको अभाव बढ्दै जाने बताउँदै व्याबसायीले बिना अनुभवका युवा चालकहरुलाई टिपर चलाउन दिनु पर्ने बाध्यताले गर्दा दुर्घटनाको सम्भावना अझ अत्यधिक बढ्ने धारणा राख्नुभयो । दिउँसो ट्रक तथा टिपर चलाउन नपाउँदा ट्रक तथा टिपर ब्यवसायमा लागेका चालकहरुले सवारी साधनबाट यथोचित लाभ लिन नसक्ने भएपछि टिपर ब्यवसाय नै छाडेर दक्ष युवा चालकहरु फेरी बिदेशिने क्रम बढ्ने र स्वरोजगारमा रहेका युवाहरु फेरी यो व्याबसाय छाडेर बिदेशिन बाध्य हुने हुँदा चालकको अभाव सृजना हुने उनीहरुको भनाई छ ।

दिउँसोको समयमा निर्माण सामाग्री ढुवानी गर्न रोक लगाउँदा सरकारी लगायत कुनै पनि निर्माणका काम लक्ष्य अनुसार पुरा हुन नसकिने अबस्था सृजना हुने र लक्ष्य अनुसारको काम समयमा नै ठेकेदारहरुले सम्पन्न गर्न नसक्दा सरकारको कारबाहीमा पर्ने बिज्ञप्तिमा उल्लेछ छ । त्यस्तै सरकारको निर्माण सम्बन्धी कामको लागत समेत बृद्धि हुन र यातायात ब्यवसायी, निर्माण ब्यवसायी, विकास उन्मूख नेपाल सरकार, ठेकेदार, भुकम्प पीडित लगायत आम सर्वसाधारणहरुलाई समेत प्रतिकूल असर पर्ने हुँदा यसमा पुनरावलोकन गर्न उनीहरुको माग छ ।

उपत्कामा टिप्परकै कारण दुर्घटना बृद्धिका साथै मृत्यु हुनेको संख्यामा बृद्धि भएपछि सरकारले समय तालिक निर्धारण गर्दै साँझ ८ बजे देखि बिहान ५ सम्म समय चलाउँन पाउँने व्यबस्था गरेपछि व्याबसायीले माग प्रस्तुत गरेको हुन् ।उनीहरुले बिकल्पको रुपमा सबै सवारी साधनलाई ट्राफिक लेन अनुशासनलाई प्रभावकारी एवं कडाईका साथ पालना गर्न गराउन लगाउनुपर्ने र लेन अनुशासन पालना नगर्नेलाई नियमानुसारको कारबाही गर्न माग गरेका छन् ।

सबै पक्षलाई गल्ती अनुसारको कारबाही हुन आवश्यक भएको भन्दै कुनै पनि सवारी दुर्घटनामा गल्ति कसको हो भन्ने पहिचान गर्नु अत्यावश्यक छ, ट्रक तथा टिपर ब्यवसायी संघले निकालेको बिज्ञप्तिमा भनिएको छ, सडक कार्यालयको गल्ति प्रमाणित भए सडकलाई, दुर्घटनामा पर्ने सवारी साधन आफैंको गल्ती भए उसलाई पनि कारबाही गर्नुपर्ने, ट्राफिक प्रहरीको गल्ती भए त्यहाँ पनि कारबाहीको नीति बनाउनु पर्ने, चालकको गल्ती प्रमाणित भए चालकलाई कारबाही गर्नुपर्ने र पैदलयात्रीले गल्ती गरेको खण्डमा पैदलयात्रीलाई समेत कारबाही गर्ने नियम कडाईका साथ लागु हुनपर्छ ।

सडकमा जथाभावी छाडिएका पशुपंक्षी एवं चौपायाहरुका कारण पनि दुर्घटना बढेकोले सडकमा रहेका पशुपंक्षी एवं चौपाया र भुस्याहा कुकुरहरुको व्यबस्थापन गर्नु संघले माग गरेको छ । संघका निर्वतमान अध्यक्ष नबिन प्रजापतिले सवारी साधनको स्वरुप ठीक छैन भन्ने ठहर भएमा यस्ता सवारी साधनको आयातमा पूर्ण रुपमा रोक लगाउनु पर्नेमा जोड दिंदै सवारी साधनको आयात गर्नुभन्दा अगाडि नेपालका लागि त्यो गाडी ठिक छ कि छैन भन्ने प्राविधिक चेकजाँच हुनु आवश्यक छ भन्नुभयो ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका ट्रक, ट्रिपर तथा हेभि ईक्युपमेन्ट का बर्गीय संयोजक समेत रहेका प्रजापतिले अरनिको राजमार्ग र काठमाण्डौंको रिङ्गरोड लगायत फराकिला सर्भिस ट्रयाक भएको बाटोहरुको दाँयाँ बायाँ मोटरसाईकल लेनको रुपमा बिकास गरि मोटरसाईकल चलाउने व्यबस्था गर्दा दुर्घटना कम हुनुका साथै सडक जाममा हदैसम्म न्यूनिकरण हुन्छ त्यसैले यसतर्फ ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।सडकको दाँयाँबायाँ सर्भिस ट्रयाकमा विभिन्न किसिमको फुटपाथ पसल, मोटरसाईकल वर्क सप संचालन गर्ने, निर्माण सामाग्री थुपार्ने र अब्यवस्थित सवारी साधन पार्किङ्ग गर्ने कार्यलाई तत्काल हटाउन पनि संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्