पहिरोले बस्ति नै जोखिममा



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
निरन्तरको वर्षाका कारण पहिरो खस्दा बलेफी ८ स्थित थारचौरको बस्ति नै जोखिममा परेको छ । केहि दिनदेखिको निरन्तर वर्षाले बस्तीमुनिको जमिननै भासिएर पहिरो खस्दा थारचौरका १७ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् । थारचौरसहित पहिरोमुनिका ड्यामसाइड, सुकुम्वासी बस्तिका दर्जनौ घरहरु पहिरोको जोखिममा परेको वडाध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए ।

बस्तिमुनिको जमिन भासिने क्रम नरोकिएपछि थारचौरवासी रात वस्न अन्यत्रै जान थालेका छन् । थारचौरको बस्तीलाई पहिरोले तानीरहेपछि स्थनीवासीलाई नजिकैको फाँटवस्तीमा छिमेकीका घरमा गएर रात कटाउनु परिरहेको छ ।‘जुरेकै झल्को दिनेगरि पहिरो खसेको छ’, थारचौरका स्थानीय गेदबहादुर पराजुलीले भने, ‘ कतिबेला गाउँ नै पहिरोमा मिल्छ ठेगान छैन ।’ पहिरोको डरले यस बस्तिका मानिसहरु नजिकेको फाँटबस्तिमा छिमेकीको घरमा आश्रय लिँदै आएको उनले सुनाए । पहिरोले भोटेकोसी जलविद्युत आयोजनाको हाईटेन्सन टावर नै बगाएको छ । थारचौरबाट सुरु भएको पहिरो अरनिको राजमार्गको ड्यामसाइड खण्डमै आइपुगेको छ ।

२०७१ साउन १७ को विनाशकारी जुरे पहिरोले बलेफी ८ स्थित थारचौरको बस्ति नै उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएका थिए । नेपाल ओरिएण्ट म्याग्नेसाइटको जग्गामा विस्थापित जीवन बिताउँदै आएका उनीहरुले भूकम्पपीडित सरह मान्यता पाएपछि अनुदान लिएर जोखिमयुक्त स्थानमै घर बनाए । म्याग्नेसाइटले जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेपछि उनीहरु थारचौरमै घर बनाएर बसाई सरेका थिए । जुरे पहिरोका बेला नै स्थानीय प्रशासन र प्राविधिकले यस बस्तिलाई जोखिमयुक्त भनेपनि अन्यत्र जग्गाजमिन नहुँदा यहि स्थानमा घर बनाउनुपनेए बाध्यतामा परेको स्थानीयवासी बताउँछन् ।

‘जुरेपहिरो पछि सीडीओ गोपाल पराजुली आफैं आएर यहाँ नबस्नु भन्नुभएको थियो, त्यसपछि सवैजना म्याग्नेसाइट झरेका हुन्’, स्थानीय कृष्णप्रसाद पराजुलीले भने, ‘म्याग्नेसाइटले जग्गा खाली गर्न ताकेता गरेपछि जोखिमयुक्त ठाउामै घर बनाएर बस्नुपरेको हो ।’ पहिरोले बस्ति नै जोखिममा परेको भन्दै पहिरो रोकथाम र उनीहरुलाई अन्यत्र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले पहल गर्नुपर्ने वडाध्यक्ष चरिबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्