ग्रीन र क्लिन नगरका लागि तिलोत्तमामा वृक्षारोपण सप्ताह सुरु



यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ग्रीन र क्लिन नगर बनाउने लक्ष्य सहित वृक्षारोपण सप्ताह सुरु गरिएको छ ।
नगरपालिकाले भदौ १ गतेसम्म चल्नेगरी हरियाली प्रवद्र्धन गर्न वृक्षारोपण सप्ताह आयोजना गरेको हो ।
सप्ताहअन्तर्गत् नगरमा विभिन्न प्रजातिका फलफुल तथा वनस्पतिका ५० हजार विरुवाहरु रोपिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । विभिन्न संघ—संस्था, क्लव, टोल विकास संस्थालगायत समग्र नगरबासीसँगको सहकार्यमा वृक्षारोपण हुने नगरपालिकाले जनाएको छ । जिल्ला वन कार्यालय तथा सामुदायिक वनमार्फत् प्राप्त वनस्पतिका ३० हजार तथा नगरपालिकाले खरिद गरेका फलफूलका २० हजार विरुवा रोपिने कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो ।
नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएका विरुवाहरु रोपी त्यसबाट लाभ लिन तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगरपालिकाले वनस्पतिका विरुवा निःशुल्क र फलफूलका विरुवालाई न्यूनतम मूल्यमा टोल विकास संस्थामार्फत् नगरबासीलाई उपलब्ध गराइने जनाएको छ ।
नगर उप—प्रमुख जागेश्वरी चौधरीले वडा कार्यालयमा सम्पर्क राखि आ–आफ्नो घर–आँगन, खाली जमिन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफुल तथा वनस्पतिका विरुवाहरु रोप्न नगरबासीलाई आह्वान गर्नुभयो । यस्तै वृक्षरोपण सप्ताहका संयोजक दानबहादुर चौधरीले रोपिएका विरुवालाई हुर्काइ त्यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो । यसैबीच तिलोत्तमा–४, स्थित प्रस्तावित बालउद्यान क्षेत्रमा शनिबार आयोजित एक कार्यक्रमबीच विरुवा रोपी नगर प्रमुख घिमिरेले वृक्षारोपण सप्ताह सुभारम्भ गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्