भारतीय रेलवेले सामान अनलोडमा तीनगुणा जरिवाना बढायो



कृष्णउदास खनाल, वीरगन्ज
भारतीय रेलवेले रक्सौलमा आउने मालबाहक र्याकको अनलोडमा तीन गुणासम्म जरीवाना बढाएपछि त्यसको मारमा नेपाली व्यवसायी परेका छन्।

भारतीय रेलवेको निर्णयले मुख्य नाका वीरगन्जबाट हुने आयातमा जरीवानाको भार बढ्ने भएको हो। रेलवेको मध्यपूर्वी कार्यालय समस्तीपुरले रक्सौल माल अधीक्षकलाई पत्र लेखेर १५ दिनसम्मका लागि जरीवाना बढाउन भनेको छ। रेलवेले जरीवाना वृद्धिको सूचना आयातकर्तालाई दिइसकेको छ। रेलवेको रक्सौल यार्डमा आउने मालसामानको अनलोडमा शुक्रबार राति ८ बजेदेखि वृद्धि भएको जरीवानाको दर लागू हुनेछ। भारतीय रेलले रक्सौल यार्डमा मालसामानको चाप बढ्न थालेपछि जरीवाना बढाउने गरेको छ। विगतमा रेलवेले यस्तो जरीवाना ६ गुणासम्म बढाएको थियो। यसले नेपालका लागि आउने औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको ढुवानी खर्चिलो हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको भनाइ छ।

रेलवेले र्याक अनलोडका लागि ९ घण्टा समय दिन्छ। समय सीमाभित्र अनलोड नभए एउटा बेगनमा प्रतिघण्टा १ सय ५० भारतीय रुपियाँका दरले जरीवाना तिर्नु पर्छ। अब यो दर ४ सय ५० भारुसम्म पुगेको छ। तोकिएको समयभन्दा २ घण्टासम्मका लागि सामान्य दरमा जरीवाना लिइने रेलवेको पत्रमा उल्लेख छ।

त्यसपछिको ४ घण्टासम्म दुगुणा र ४ घण्टाभन्दा बढीमा ३ गुणा जरीवाना असुल्न भनिएको छ। विगतमा र्याकको अनलोड र गोदाममा समेत चर्की जरीवाना लगाउने गरिएको थियो। संघका सचिव माधव राजपालले रेलको जीर्ण र अपर्याप्त पूर्वाधारका कारण आयातकर्ताले जरीवाना तिर्नु परेको गुनासो गरे। रक्सौल यार्डमा मालसामान आउने ७, ८ र ९ नम्बर लिकमध्ये २ वटा बर्खाका कारण बिग्रिएकाले जाम बढेको उनले बताउनुभयो। कोइला, स्ल्याग, फलामजस्ता औद्योगिक कच्चा पदार्थ यो नाकाबाट भित्रिने गरेको छ। रेलवे यार्डको अस्तव्यस्त अवस्थाका कारण केही आयातकर्ताले कच्चा पदार्थ लोड रोकेको राजपालले बताए। रेलवेको पूर्वाधारजन्य कमजोरीको भार नेपालका आयातकर्ताले उठाउनु अन्याय भएको सचिव राजपालको भनाइ छ।

भारतकै नरकटियागञ्जमा रेलवे लिक मर्मत भइरहेकाले रक्सौल यार्डमा आवागमन अव्यवस्थित बनेको आयातकर्ता बताउँछन्। भारतीय रेलवेको व्यवस्थापकीय कमजोरीको भार पटकपटक नेपालको आयातमा परिरहेको स्थानीय व्यवसायीहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्