भारतीय विधायक हिटलरको पहिरनमा संसद् पुगे



नयाँदिल्ली, (एजेन्सी)
भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले वाचा तोडेको भन्दै विरोधस्वरुप एकजना विधायकले जर्मनी तानाशाह एडोल्फ हिटलरको पहिरनमा संसद् पुगेका छन्। ६७ वर्षीय विधायक नारामाल्ली शिवप्रसादले विरोध जनाउन यसरी अनौठो पहिरन लगाएको पहिलोचोटि भने होइन।

उनले विगतमा पौराणिक पात्र, हिन्दू भगवान, अध्यात्मिक गुरु र महिलाको पहिरन लगाइसकेका छन्। उनले बीबीसी तेलुगुका पत्रकार रविशंकरलाई बताएका छन्, ‘मैले सबैको छिटो ध्यानाकर्षण गराउने काम गरिरहेको छु। यसले मानिसलाई सोच्न बाध्य पार्दछ।’

पूर्वकलाकार शिवप्रसाद दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशका विधायक हुन्। उनले राज्यको सत्तारुढ तेलुगु देसम पार्टी ( टीडीपी ) बाट प्रतिनिधित्व गरेका छन्। तर यसपालिको उनको विवादास्पद पहिरनले धेरैलाई स्तब्ध पार्न सफल भएको छ। एकजना टिवटर प्रयोगकर्ता भनेका छन् ,‘युद्ध र ग्यास च्याम्बरमा लाखौं मानिसको हत्या गर्ने हिटलरजस्तै मानिसको पोशाक लगाएर एकजना निर्वाचित विधायक संसद पुगेका छन्। यसले रमाइलो वातावरण मात्र बनायो। कुनै आश्चर्यको कुरा नै छैन किनकि भारतमा घृणा भनेको एउटा सामान्य चिज भइसकेको छ।’

शिव प्रसादले संघीय सरकारले आन्ध्र प्रदेशलाई विशेष सूचीमा नराखेका कारण आफूले विरोध जनाएको बताएका छन्। यदि विशेष सूचीमा राखिएको भए सो राज्यको विकासका लागि थप बजेटकको व्यवस्था हुने थियो। मोदीको सत्तारुढ संघीय गठबन्धनको सदस्य रहेको टीडीपीले गत वर्ष यसै विषलाई लिएर गठबन्धन त्यागेको थियो।

प्रतिक्रिया दिनुहोस्