उत्तर कोरियाद्वारा अमेरिकाको आलोचना



सोल, (एजेन्सी)
उत्तर कोरियाको विदेश मन्त्रालयले आफ्नो राष्ट्रमाथि लगाइँदै आएको नाकाबन्दी नहटाएका कारण शुक्रबार संयुक्त राज्य अमेरिकाको आलोचना गरेको छ। उत्तर कोरियाले आफूले विभिन्न सद्भाव संकेतहरु दिइसकेको तर अमेरिकाले अझै म्याद नाघिसकेको दस्तावेज पछ्याउँदै गरेको र यससम्बन्धी कामकारबाहीमा ढिलासुस्ती गरिरहेको जनाएको छ।

आफ्नो आणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण उत्तर कोरियाले थुप्रै अन्तर्राष्ट्रिय र अमेरिकी नाकाबन्दी खेप्दै आएको छ। अमेरिकाले उत्तर माथिको नाकाबन्दी हटाइनुअघि पूर्णआणविक निशस्त्रीकरण चाहेको छ।

गत १२ जुनमा सिंगापुरमा कोरियाली प्रायद्विपमा निशस्त्रीकरणका लागि अघि बढ्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनबीच ऐतिहासिक वार्ता भएको थियो। तर सो वार्तामा भएको निशस्त्रीकरण प्रक्रियाअझै अस्पष्ट रहेको छ।

उत्तर कोरियाले एकपक्षीय रूपमा आफ्नो आणविक हातहतियार त्याग्ने प्रतिवद्धता जनाएको छैन। गत साता मात्र संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उत्तर कोरियाले आफ्नो आणविक हतियार निर्माण कार्य नरोकिएको उल्लेख गरेपछि अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई उत्तरमाथि नाकाबन्दी जारी राख्न आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्