इमरानले अगस्ट १८ मा प्रधानमन्त्रीको सपथ लिने, चुनाव आयोगसँग माफी मागे



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको संसद् नेसनल असेम्बलीमा सबैभन्दा ठूलो पार्टी बनेका पीटीआईका प्रमुख इमरान खानले अगस्ट १८ मा मात्र प्रधानमन्त्रीको सपथ लिने जानकारी दिएका छन्। पार्टीका वरिष्ठ नेता तथा सिनेटर फैजल जावेदले ट्विटमार्फत उक्त जानकारी दिँदै सपथ ग्रहण समारोहमा भारतीय पूर्वक्रिकेटर कपिल देव, नवजोत सिंह सिद्ध र सुनिल गावस्करलाई बोलाइएको जनाएको छ।

जावेदले ट्विटमा लेखेका छन्– ‘इमरान खानले सन् २०१८ अगस्ट १८ मा प्रधानमन्त्री पदको सपथ लिनेछ।’

पाकिस्तानी राष्ट्रपति ममनुन हुसैनले अगस्ट १३ का लागि नेसनल असेम्बलीको सत्र बोलाएका छन्। उक्त सत्रमा नवनिर्वाचित सदस्यले सांसद पदको सपथ लिनेछ। पीटीआईको संसदीय कमिटीले सोमबार इमरानलाई संसदीय दलको नेता चयन र प्रधानमन्त्री पदका लागि नामांकन गरेको थियो।पीटीआई जुलाई २५ मा भएको चुनावमा नेसनल एसेम्बलीको १ सय १६ सिट जितेर सबैभन्दा ठुलो पार्टीका रुपमा अगाडि आएको छ।

राष्ट्रपति हुसैनले प्रधानमन्त्रीको सपथ ग्रहणलाई ध्यानमा राख्दै आफ्नो स्कटल्यान्डको यात्रा स्थगित गरेको जियो न्युजले जनाएको छ। ममनुन अगस्ट १६ देखि १९ सम्म एडिनबर्गको भ्रमण गर्ने कार्यक्रम थियो। अब राष्ट्रपति हुसैनले सपथ ग्रहणपछि उक्त भ्रमण गर्नेछन्।

इमरानले लिखित माफी मागे

यसैबीच चुनाव आचारसंहिता उलंघन गरेको मामिलामा सम्भावित प्रधानमन्त्री इमरान खानले निर्वाचन आयोगसँग लिखित रुपमा माफी मागेका छन्। इमरान खानमाथि जुलाइ २५ मा भएको आमचुनावका क्रममा आफ्नो मत खसाल्ने क्रममा आचारसंहिताको उलंघन गरेको आरोप थियो। पाकिस्तान निर्वाचन आयोगले यस मामिलामा आफ्नो निर्णय सुरक्षित गरिसकेको बताइएको छ।

आयोगले पाकिस्तान तहरिक–ए–इन्साफ पार्टी प्रमुखले आचारसंहिताको उलंघन गरेकोमा लिखित माफी माग्न भनेको थियो। निर्वाचन प्रमुख आयुक्त सरदार मुहम्मद रजाको अध्यक्षतामा भएको ४ सदस्यीय बेन्चको सुनवाइका क्रममा इमरानले लिखित माफी तथा प्रतिबद्धतापत्र दायर गरेका थिए। आयोगले बिहीबार इमरानका वकिल ऐवानद्वारा बुझाएको जवाफ अस्वीकार गरेका थिए। इमरानले जानीजानी आफ्नो मतपत्रमा सार्वजनिक रूपमा छाप नलगाएको उनका वकिलले बताएका थिए। विवाद अन्त्य गर्न र इमरान खानलाई एनए ५३ इस्लामावाद निर्वाचन क्षेत्रबाट विजय घोषित गर्न उनले आयोगसँग अपिल गरेका थिए।

एनए–५३ इस्लामावाद संसदीय क्षेत्रमा सार्वजनिक रूपमा मतपत्रमा छाप लगाएको भेटिएपछि पाकिस्तानको चुनाव आयोग (ईसीपी)ले यसलाई गम्भिर रूपमा लिएको थियो। त्यसपछि चुनाव आयुक्तको अध्यक्षतामा ४ सदस्यीय पिठले खानविरुद्ध मामिलाको सुनुवाइ गरेको थियो।

ऐवानले बिहीबार आयोगलाई लिखित जवाफ दिँदै आफ्ना वादीले जानीजानी सार्वजनिक रुपमा मतदान नगरेको बताए। इमरानको मतपत्रको तस्वीर उनको अनुमतिबिना खिचेको जवाफमा उल्लेख छ। गोपनियताका लागि मतदान गर्ने स्थानमा वरपर लगाइएको पर्दा पनि केन्द्रभित्र भिडका कारण खसेको उल्लेख गरिएको थियो। ६५ वर्षीय इमरानले एनए–५३ इस्लामावाद संसदीय सिटबाट पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग नवाजका नेता साहिद खाकान अब्बासीलाई ४८ हजार ५ सय ७७ मतले पराजित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्