उरालिएका शाश्वत स्वरहरू



रामसुन्दर देउजा,
साहित्यका विविध विधाहरूमध्ये मुक्तक एक रसिलो र चोटिलो विधा हो। नेपाली भाषा साहित्यको क्षेत्रमा सर्वप्रथम कसले मुक्तक लेखन कार्य गर्यो वा कसले प्रकाशन कार्य गर्यो भनेर इतिहास खोतल्दा अझैसम्म पनि किटानीसाथ भन्न सकिने स्थिति छैन। यो विशेष खोज–अनुसन्धानकै विषय रहिआएको छ। यद्यपि शक्तिवल्लभ अज्र्यालले लेखेका ‘तनहुँ भकुण्डो’ शीर्षकका दुई श्लोकलाई नेपाली भाषा साहित्यको क्षेत्रमा आदि मुक्तक मानिन्छ। यी दुई श्लोकको रचना कति सालमा भयो भन्ने निश्चित वर्ष थाहा नभए पनि यसको रचना लगभग वि.सं. १८३९ सालतिर भएको अनुमान गरिन्छ।

त्यसो त साहित्यकार कृष्णप्रसाद पराजुलीद्वारा वि.सं. २०२० फागुनमा भारतको वनारसबाट प्रकाशित ‘छँुदै आएको उजेली’ पत्रिकामा मुक्तक शब्दकै उल्लेख गरी आफ्नो मुक्तक रचना प्रकाशित गरेका थिए र काठमाडौंबाट प्रकाशित हँुदै आएको रूपरेखा पत्रिकाको पूर्णाङ्क–३९ मा आफ्नो सातवटा मुक्तकहरू प्रकाशित गरेका थिए। तसर्थ मुक्तक विधाका अध्येता एवं अनुसन्धानकर्ताहरूको खोज, अध्ययन एवम् अनुसन्धानबाट प्राप्त भएको पछिल्लो निष्कर्षलाई ठोस आधार मानेर उल्लेख गरिएको प्रामाणिक तथ्यअनुसार फुटकररूपमा कृष्णप्रसाद पराजुलीद्वारा नेपाली भाषा साहित्यको क्षेत्रमा मुक्तक लेखन एवम् प्रकाशन कार्यको शिलान्यास गरिएको पाइन्छ। समग्रमा भन्नुपर्दा मुक्तक लेखन र प्रकाशनको विषयमा इतिहासको तथ्य खोज र अनुसन्धान हुन अझै बाँकी छ भन्न सकिन्छ।

मुक्तक एक स्वतन्त्र रचना र एकै खण्ड वा पद्यमा पूरा हुने लघुकाव्य रचना जसमा मर्मस्पर्शी सूक्ति र चामत्कारिक उक्ति रहेको पाइन्छ। यसमा सूक्ष्म प्रभाव, व्यापकता कम र रस सञ्चारको क्षमता रहेको हुन्छ। यस आलेखमा चर्चा गर्न लागिएको विषयचाहिँ मुक्तककार सूर्यप्रसाद लाकोजूको भर्खरै प्रकाशित मुक्तकसङ्ग्रह शाश्वत स्वरहरूको हो।

सूर्यप्रसाद लाकोजू एक यस्ता व्यक्ति हुन् जो शिक्षा र भाषा साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील छन्। हालसम्म यिनका १७ वटा विभिन्न विधामा कृतिहरू प्रकाशित छन् । शाश्वत स्वरहरू मुक्तकसङ्ग्रहमा १०१ वटा मुक्तकहरू सङ्ग्रहित छन्। यस मुक्तकसङ्ग्रहमा जीवन, दर्शन, विकृति, विसङ्गतिहरूतर्फको कटाक्ष आदि मुखरित भएको देख्न सकिन्छ। उनको पहिलो मुक्तक मायामा लिप्त आफ्नी प्रेयसीतर्फ इङ्गित छ– गुन भएपछि सुन किन चाहियो

मायाको तरकारीमा नून किन चाहियो

तिमी नै यसङ्ग प्रियसी
मलाई आकाशको जून किन चाहियो ? (पृ.१)
एउटा लेखकले समाजका हरेक विषयवस्तुलाई सूक्ष्म ढङ्गले केलाउनुपर्छ र त्यसमा देखिएका विकृतिहरूलाई उजागर गर्नुपर्छ। यही कर्तव्यअनुसार उनी नेताहरूलाई तीखो व्यंग्य प्रहार गर्छन्–
आऊ नक्कली हाँसो हाँसेर आऊ
सबैलाई नमस्कार ओछ्याएर जाऊ
आश्वासनको भारी बोकेर तिमी
चुनाव जितेपछि मीठो अङ्गुर खुवाऊ (पृ.२५)
त्यस्तै व्यङ्ग्यवाणसँगै हामी सबैसँग आ–आफ्नो क्षमता छ र हामीले चाह्यौं भने सुन्दर समाज निर्माण हुन बेर लाग्दैन भन्दै उनी सम्झाउँछन्–
तिमीले चाहे कालो रात गल्र्याम्मै ढल्छ
सुनौलो बिहानीमा सुवासिलो हावा चल्छ
शक्ति छ तिमीसँग अथाह बुझ कुरा
परिश्रम गरे तिमीले सुनै सुन फल्छ। (पृ.६५)
पहिचानको नाउँमा जातीय राज्यको माग गर्दै सामाजिक सद्भाव भड्काउने विरुद्ध पनि आफ्नो कलमको टुँडले घोच्न पुग्छन् उनी–
एकतालाई पार्ने खण्ड–खण्ड
अनि खोज्ने राष्ट्र अखण्ड
आफ्नो स्वार्थको लागि
अशान्तिको बीउ छर्ने पाखण्ड !

यसरी उनका मुक्तकहरू सरल छन्, पाठकले सजिलै बुझ्न सक्छन्। उनका बारेमा वरिष्ठ गजलकार र मुक्तककार ज्ञानुबाकर पौडेल पुस्तकको भूमिकामा लेख्छन्– कुनै–कुनै यिनका यी मुक्तकहरूले सामाजिक विषमता र अन्तर्विरोधलाई उजागर गर्न खोजिएका रहेछन् भने कुनै मुक्तकहरूले युवा–मनहरूमा उत्पन्न प्रेमपरक भावलाई यसरी प्रकट गरेका छन् कि साहित्यमा रुचि नै नभएका पाठकहरूको मन छुने गरी व्यक्त भएका छन् र साहित्यमा रुचि नै नभएका मान्छे पनि मुक्तकमा आकर्षित भएर कलम चलाउन उद्यत् हुन सक्छन्।

अन्त्यमा उनको कलम अझै तिखारिँदै र निखारिँदै जाओस्। उनी निरन्तर क्रियाशील हुन सकून्। अहिलेलाई यही शुभकामना !

प्रतिक्रिया दिनुहोस्