बाल्यकालको रेल–सपना



मोहन खतिवडा
(हाल ः जापान)
अहिले म समुद्रपारि जापानमा भए पनि मेरो बाल्यकालको धेरै वर्ष दार्जीलिङमा बित्यो। केटाकेटीको बालसुलभ मस्तिष्कमा त्यस बेलादेखि नै अनेक थरीका कल्पना र सपनाहरू भरिन्थे। भलै कति सपना पूरा भए त कति असम्भव रहेछन् भन्ने कुरा अहिले थाहा पाउँदै छु। पूरा हुनै नसक्ने सपना पूरा भएनन्, त्यसमा आज मेरो कुनै गुनासो छैन।

दार्जीलिङ चिसो ठाउँ, स्वच्छ वातावरण, पर्यटकीय मनोरम स्थल, सभ्य संस्कार अहिले जापानमा आएर पनि बिर्सन सकेको छैन। त्यो चौरस्ता, डाली, बीजनबारी, जज बजार, बतासे त्यो सानो चिटिक्क परेको हिमाली बजार दार्जीलिङको विशेषता नै मान्नुपर्छ। जहाँ जिन्दगीका धेरै कुराहरू कल्पना गर्थें त्यस बेला।
केटाकेटीमा उपद्रे स्वभाव थियो। शायद बालपन जोसुकैको पनि यस्तै देख्छु म। आफू बसेको घरभन्दा दूरीको हिसाबले करिब डेढ किलोमिटर टाढा थियो म पढ्ने स्कुल। आफू त्यति वैभवशाली परिएनछ क्यारे !

परिणाम सधैँ ११ नम्बरको दुईखुट्टे मोटर चलाउनै पर्ने बाध्यता थियो, घाम लागोस् वा पानी परोस्।

जब बिदाको दिन आउँथ्यो, बालसखासँग म घुम्न निस्कन्थें। थोरै तल अनि केही पर हिँडेपछि रेल स्टेसन पुगिन्थ्यो। गायक रामकृष्ण ढकालले पनि यहीँको यथार्थलाई मीठो गीतमा उतारेका रैछन्। उनले गाएको सुन्छु– ‘पहाडको छुक्छुके रेल छुट्यो हजुर रोक्दै नरोकी, मैले रुमाल हल्लाको गयो माया देख्दै नदेखी…।’ यो गीतले पनि मलाई बाल्यकालको सम्झना गराउँछ। हो, यिनै गायकले भनेकै दार्जीलिङको रेल, जुन तीन–पाँच डिब्बासम्मको हुन्थ्यो। अनि अगाडिको इन्जिनमा पत्थरकोइला, त्यही कोइला जलेर धुवाँको मुस्लो छुट्दै रेल अगाडि गुड्थ्यो। आज पनि गुडिरहेको छ होला। जसको गति बिस्तारै–बिस्तारै बढ्दै जान्थ्यो। म अनि मेरो बालसखा रेल इन्जिन चल्नुअघि नै डिब्बामा चढ्थ्यौं। रेलको गति बढ्न नपाउँदै हाम्रो घर आइपुग्थ्यो। घरनजिकै आइपुगेपछि रेलको ढोकाबाट बुरुक्क बाहिर फालहाल्थ्यौं।

त्यस बेला मनमा तर्कना आउँथ्यो, यस्तै सानो रेल हाम्रो नेपालमा पनि बनिदिएको भए कति सुलभ अनि रमणीय हुन्थ्यो भनेर। कति मीठा लाग्छन् अतीतहरू सम्झेर हेर्दा। सानो उच्च पहाडी गोलाइभित्र (दार्जीलिङ–बतासे) काल्पनिक कथाजस्तै लाग्ने यो रेलको कथा हाम्रो देशमा पनि केही वर्षदेखि भन्न थालिएको छ। सबैले रेलको नाम सुन्न पाएकै छन् अनि अखबारका पानाहरूमा विभिन्न कम्पनीका कागजी रेलहरू तँछाडमँछाड गर्दै दौडिरहेका छन्।

विभिन्न अध्ययनले देखाइरहेका छन् कि हाम्रो जस्तो पहाडी मुलुकमा सडक सञ्जालभन्दा यस्ता रेल चलाउँदा धेरै लागत सस्तो पर्दो रहेछ। तर हामी मुलुकको समग्र फाइदा हुने कसैले योजना ल्यायो भने त्यसलाई पार्टीको नाम जोडेर खिल्ली उडाउने, विभिन्न अड्को थाप्ने, सकेसम्म काम नै हुन नदिने दरिद्र मानसिकताका रोगी जबसम्म रहन्छौं तबसम्म सपना सपना नै रहिरहनेछ। साथै मेरो त्यस बेला बालमस्तिष्कमा परेको आफ्नै सगरमाथाको काखमा रेल चढ्ने सपना सपनामै तुहिनेछ।

प्रतिक्रिया दिनुहोस्