भाषा आन्दोलनलाई नियालेर हेर्दा



कृष्ण प्रजापति,
चाँडो शिक्षा आर्जन गर्ने हो भने मातृभाषामा शिक्षा हासिल गर्ने व्यवस्था हुनुपर्दछ भन्ने मास्टर जगतसुन्दर मल्लले अगाडि सार्नुभएको धारणा नै नेपालमा मातृभाषा आन्दोलनको सबैभन्दा पहिलो धारणा हुनुपर्दछ। सो समयसम्म एक भाषाले अर्को भाषालाई दमन गर्ने, शोषण गर्ने वा विस्थापित गर्ने प्रयास गरेको पाइँदैन। बरु आफ्नो समुदायभित्र आफ्नो भाषा बोलेर मानिसहरू स्वतन्त्ररूपमा नै भाषा सिकेर सिकाउँदै आइरहेको समय थियो।

त्यो बेलासम्म कसैले कसैलाई निषेधको राजनीति पनि कतै गरिएको पाइँदैन। त्यसपछि भने नेपालभाषाको माध्यमबाट लेख्ने लेखक–साहित्यकारहरूले विद्रोहको आवाज यस भाषाबाट घन्काइरहेको थाहा पाएर राणाहरूले नेपालभाषाबाट लेख्ने र पढ्ने कार्यलाई विस्थापित गर्ने नीति लिएको हो। यदि नेपालभाषाको भजन मात्रै गाइरहेको भए र धल्चा भजन मात्रै नेपालभाषाबाट घन्काइरहेको भए त्यसरी नेपालभाषालाई दमन गर्ने पनि थिएनन् होला।

नेपालमा पहिलोपल्ट यसरी राणाहरूले नै नेपालभाषाबाट लेख्न र बोल्न पाइँदैन भन्ने कुरा राज्यस्तरबाट लादिएको थियो। त्यसको परिणामस्वरूप कैयौं विद्रोहीहरू जेल बसे भने कतिपयलाई देश निकालासमेत गरिएको थियो। त्यसो भएर पनि नेपालीहरू मिलेर नेपालमा पहिलोपल्ट स्थापित नेपालभाषाको संस्था च्वसापासा भारतको बनारसमा स्थापना हुन पुग्यो।

यो एक हिसाबले जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ भनेझैँ युवाहरूलाई कुण्ठित पार्ने प्रयास गरेपछि विद्रोहको स्वर घन्काउन बुलन्द बिद्रोहको पाइलो हो। यस्तो कार्य पूर्वी पाकिस्तानबाट बंगलादेश अलग्ग भएको बखत पनि देखिएको थियो। पाकिस्तानले एक भाषा एक जातिलाई मात्रै स्थान दिने गरेपछि बाध्य भएर बंगलादेश अलग हुन पुगेको मानिन्छ। त्यहाँ भाषा आन्दोलनको क्रममा थुप्रै व्यक्तिले सहादत प्राप्त गरेका रहेछन्। आफ्नो बंगाल भाषालाई मान्यता दिनुपर्ने माग अगाडि सारी शुरू गरेको अभियानले सफलता प्राप्त गरेपछि बंगलादेशबाटै मातृभाषा दिवस मनाउने परम्परा शुरू गरेको थियो। अन्तर्राष्ट्रिय मातृभाषा दिवस प्रत्येक वर्ष २१ फेब्रुअरीका दिन मनाउने गरिन्छ।

मातृभाषाप्रति प्रेमाभाव उत्पन्न गर्ने कार्य देश–विदेशमा विभिन्न खालको अभियानको रूपमा लामो समयदेखि नै अगाडि बढ्दै आएको देखिन्छ। हाम्रो देशमा भने नेपालभाषाको माध्यमबाट पढाउने स्कुल स्थापना गरी सीएटी क्याट, क्याट माने भौचा (बिरालो), डीओजी डग, डग माने खिचा (कुकुर), आरएटी र्याट, र्याट माने छुँचा (मुसा) भन्दै अंग्रेजी मानेलाई नेपालभाषाको शब्दमा शिक्षा दिने मास्टर जगतसुन्दर मल्लले नै पहिलोपल्ट यस्तो अभियान चालेको देखिन्छ। संस्कृतमा मात्रै लेख्ने गरेको सो समयमा पनि जनबोलीमा प्रचलनमा रहेको नेपालभाषाको माध्यमबाट लेखेर–पढेर अनि व्याकरण तयार पारेकै कारण शहीद शुक्रराज शास्त्रीलाई राणाहरूले टेकुमा झुन्ड्याएर मारिदिए। अनि जगतसुन्दर मल्ल, योगवीरसिं कंसाकार, सिद्धिदास अमात्य र निष्ठानन्द वज्राचार्यजस्ता नेपालभाषाका चार खम्बा भनिने व्यक्तिहरूको प्रेरणा लिएर अगाडि बढेका जगतमान वैद्य ‘धर्मदित्य धर्माचार्य’, धर्मरत्न यमि, प्रेमबहादुर कंसाकार, चित्तधर हृदयहरूलाई जेल–नेल सजायँ दिएको, देश निकाला गरेकोदेखि विभिन्न रूपमा यातना दिँदै गएको हो। तर विद्रोहले भने विश्राम लिएन।

नेपालभाषा १५ सय वर्षअगाडिदेखि नै लिखित इतिहास भएको र ५ सय वर्षअगाडिदेखि त राम्रा–राम्रा साहित्य सिर्जना भएको समृद्ध भाषा नै हो। त्यस्तो भाषाका कारण राणाहरू र पञ्चायती व्यवस्थाले समेत आफूहरूलाई विद्रोही देख्नुपर्ने अवस्था आइपर्यो। वास्तवमा जनतालाई दमन गर्यो भने नै त्यसको प्रतिकार हुने हो। राणा विरोधी आन्दोलन र पञ्चायती व्यवस्था समाप्त गर्ने आन्दोलनमा पनि थुप्रै भाषाभाषी जनजातिको हात रहेको पाइन्छ। पद्मरत्न तुलाधरहरूले अगाडि सारेको नेपालभाषा मंकाः खलःको विद्रोह, मधेसमा मैथिली भाषाभाषीले गरेको अभियान भाषा आन्दोलनका प्रमाणहरू हुन्। यो कार्य हाम्रो देशमा मात्रै होइन विश्वभर नै अगाडि सारेको रहेछ। त्यस्तै खालका गतिविधि बंगलादेशमा पनि भए। त्यसैले बंगलादेशबाट मातृभाषा दिवस मनाउने परम्परा पनि शुरू भयो। आफ्नो भाषाप्रति प्रेम गर्ने भनेको अन्य कुनै पनि भाषालाई बिगार्ने, नराम्रो मान्ने वा विस्थापित गर्ने कार्य हुँदै होइन। तर हामीकहाँ नेपालभाषाबाट लेख्नेबित्तिक्कै खस नेपाली भाषालाई आघात पर्ला भन्ने धारणाले राणाहरूले होस् वा पञ्चायती व्यवस्थाले किन नहोस्, त्यस कार्यलाई अत्यन्तै आपत्तिजनक कार्य सम्झेर निषेध नै गरिदियो।

अहिले देशमा प्रजातान्त्रिक व्यवस्था पुनः स्थापना भैसकेको पनि छ। साथै गणतन्त्र आइसकेको अवस्था छ। त्यसो भएर पनि भाषा आन्दोलन चलाउनुपर्ने औचित्य भने अहिलेसम्म पनि समाप्त हुन सकिरहेको छैन। यहाँ एक भाषाले मात्रै पढाउने परिपाटी विकास भएको देखिन्छ। विभिन्न भाषाबाट पाठ्यक्रम तयार गर्नुपर्नेमा खस नेपाली भाषा एउटैले मात्रै भाषाको पाठ्यक्रम तयार गरिराखेको छ। अनिवार्य विषय बनाएर नेपाली र बरु अन्तर्राष्ट्रिय भाषा अंग्रेजीलाई मान्यता दिइराखेको छ। मातृभाषाको स्थान नै छैन। मातृभाषा एउटा मात्रै भाषा लागू गर्ने हो भने सजिलै शिक्षा आर्जन गर्न सकिने थियो। मातृभाषाबाट शिक्षा दिन सके सजिलै शिक्षा आर्जन गर्ने सकिन्थ्यो। अन्य भाषाबाट त्यति सजिलै सिक्न सकिन्न। उनलाई मनमनमै एकपल्ट पाठको अनुवाद गरी बस्नुपर्ने बखत नै उनको दिमागलाई धेरै शक्ति खर्च गर्नुपर्ने अवस्था सिर्जना भैसक्छ। वास्तवमा जनजाति, भाषाभाषीहरू हरेकमा पछि पर्नुको कारण पनि यही नै हो।
वैज्ञानिकहरूको धारणाअनुसार बालबच्चालाई यदि राम्रो वातावरण प्राप्त भएको खण्डमा उनीहरूले सातवटा भाषा एकैपल्ट सिक्न सक्छन्।

त्यसैले भाषाभाषी र जनजातिहरूले पनि आफ्नो मातृभाषा नै नसिकाईकन बालबच्चालाई खस भाषा अनिवार्यरूपमा नजानी–नजानी सिकाउनुपर्ने आवश्यकता छैन। उनीहरूले स्कुलमा गएर सिक्ने त उही हो। घरमा भने लगानी नै नपर्ने गरी आफ्नै काखमा राखी सिकाउन सकिने भाषा मातृभाषा नै आफ्ना बालबच्चाहरूलाई सिकाउनुपर्दछ। बालबालिकाले बोल्ने तोते बोली सिकाउनुपर्दछ। यो चलन ह्रास हुँदै गइरहेको छ। वयष्क उमेरका मानिसले बालबच्चाले मातृ भाषा बुझ्न सक्ने भए पनि उनीहरूसँग कुरा गर्दा खस भाषामा कुरा गर्ने बानी हुन पुग्यो। यो हामी सबैको कमजोरी हो।

यसलाई ध्यान दिएर हामी सबैले आफ्नो मातृभाषा पहिला सिकाउनुपर्दछ। र, आफूले बोल्नु पनि पर्दछ। बुझ्नै नसकेको खण्डमा मात्रै दोस्रो वा तेस्रो भाषाको शरणमा पर्ने प्रयास गर्नुपर्दछ। यो कुरा प्रत्येक भाषाभाषी वा जनजातिले अंगाल्न सक्नुपर्दछ। अनि मात्रै हाम्रा अग्रजहरूले गरी गएको भाषा आन्दोलन सार्थक हुनेछ। त्यसपछि मात्रै बंगलादेशबाट मनाउन शुरू गरी विश्वमा फैलिँदै गएको उक्त अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउनुको औचित्य पुष्टि हुनेछ।

प्रतिक्रिया दिनुहोस्