अमृतको व्यापार



कमल ढकाल ।
सज्जन ः लीलया प्रोक्तं शिलालिखितमक्षरम।

दुर्जन ः शपथेनापि जले लिखितमरक्षराम।

अर्थात् सज्जनले ख्याल–ख्यालमा नै वा ठट्टै ठट्टामा बोलेको पनि ढुगांमा कुँदिएको अक्षरझैं हुन्छ भने दुर्जनले चाहिँ कसमै खाएर बोलेको पनि पानीमा लेखिएको अक्षरझैं हुन्छ, कहीं कतै भेटिँदैन।
यसले बुझिन्छ। बोलीको ठूलो प्रभाव हुन्छ। अझ व्यापारमा त बोलेको कुरा पुर्याउनै पर्छ। यसले बेइमानी गर्दैन। हो यो ब्रान्ड बनाउनेबित्तिकै हरेकले पत्याउँछ। त्यही नै व्यापारको दह्रो लुब्रिकेन्ट हो।

व्यापार गर्छु भन्नेलाई समय कुर्नु पर्दैन। कुनै उमेर हुँदैन व्यापारको। डाक्टर हेरम्ब राजभण्डारीलाई भेटेपछि यही लाग्यो। ३४ वर्षको सरकारी सेवापछि सचिवजस्तो उच्च पदबाट समय छँदाछँदै रिटायर्ड गराएपछि शुरू भयो उनको व्यापारको हाइ–वे।

१४ लिटर दूध तताएर दही बनाउने कामबाट आफ्नै घर महाबौद्धमा शुरू भएथ्यो नेपाल डेरी। सायदै उनलाई जागिरबाट बलीको बोको नबनाइएको भए आजको नेपाल डेरी बन्न सक्दैनथ्यो कि। छोरो मान्छेलाई ईख र सर्पमा बिख भएन भने त्यसलाई कुटेर मार्छन्। सायद यही कुरा कतै उनले पढे वा व्यवहारमा त्यस्तै लाग्यो र सरकारी जागिरमा आफ्नो खाने उमेर बाँकी छँदाछँदै मन अमिलो पार्दै हिँड्दा हेरम्बलाई लाग्यो अब आफ्नो गर्छु। ईखले के काम शुरू गरेथे आज एकपछि अर्काे उद्योग थपेका छन्।

रिटायर्ड भएर तीर्थ ब्रत गर्न हिँड्छन् मान्छेहरू। डाक्टर हेरम्ब भने आफ्नो कछुवा चालमा हिँडेको उद्योगलाई खरायो गतिमा उफार्न चाहन्थे। त्यसैले रातभर काममा लागे। हेरम्ब मनमनै सोच्थें। काम गर्ने उमेरमा खाली बस्यो भने श्रीमतीले पनि गाली गर्छन्। यही सोचाइ मनमा ल्याएका कारण बकमफुसे राजनीति गफ गरेर दुनियाँलाई गाली गर्ने समयको सदुपयोग गरे उनले। त्यसैले त आज नेपाल डेरी सँगसँगै एन्डिज आइसक्रिम एन्ड फास्ट फुड इन्डस्ट्रिज प्रालि बेकरी अनि विभिन्न ठाउँमा फास्ट फुड क्याफे खुलेका छन्।

आज राजधानी खाल्डामा मात्र वार्षिक ३ अरबको दूग्ध पदार्थको व्यापार हुन्छ। दूग्ध विकास संस्थानको एकाधिकारलाई समाप्त पार्दै आएको नेपाल डेरी मात्र नभई अन्यसमेत गरी लगभग २ सयको हाराहारीमा छन् डेरी। प्राइभेट डेरीले ६० प्रतिशत र सरकारले ४० खपत गरिरहेका छन् अहिले पनि।
सरकारी कर्मचारी हुँदै डेरीको काम शुरू गरेका कारण उनले पटक–पटक जागिरे जीवनमा प्रधानमन्त्रीदेखि मन्त्रीको स्पष्टीकरण खानुपरेको थियो। ९० हजार लगानीमा घरको बगैंचाबाट शुरू गरको नेपाल डेरी अहिले खुमलटारमा छ। डेरी खोल्न प्यास्टराइज दूधका लागि २÷३ करोड चाहिन्छ। मेसिन २ करोड ३० लाखमा किनेका छन् उनको ग्रुपले। करोडौं लगानीको काम गर्दै छ। हिजोको ९० हजारको बीउले।
सेतै फुलेको कपालसहित एभरेस्ट बैंक पुल्चोकमा भेटिएका डाक्टर हेरम्ब आफ्नो देशको बारेमा पनि खुबै सोच्दारहेछन्। आफूले आफ्नो देशका लागि केही गर्न नसकेको देखेर उनलाई असय पीडा हुँदोरहेछ। ७८ वर्ष हुँदा पनि देशको विकास देख्न नसक्दा उनको प्रशासनिक मन भतभति पोलेर आउँदोरहेछ। सायद त्यसैले होला उनी कुराकानीका क्रममा पुल्चोकको एभरेस्ट बैंकअगाडि सुँकसुँकाए। आफैंलाई भन्दैथे– ‘यत्रो काम गर्दा पनि देशलाई केही गर्न नसक्दा क्रिमिनल जस्तो लाग्छ।’ बिगँदो देशको आफू साक्षी बसेछु भन्ने ठान्दारहेछन् हेरम्ब। त्यसैले भोलिको पुस्ताले के भन्छ भनेर उनले सरी माग्दै आँसु पुछ्दा देशलाई यति विधि माया गर्ने मान्छे पनि रहेछन् भनेर केहीबेर उठेका प्रश्न भावुक भएर रोकिए। लाग्यो एउटा प्रशासनिक मान्छे एउटा उद्योगपतिको भित्र देशका लागि कति भावुकता रहेछ।

स्मार्ट सोचाइले इज्जत दिन्छ। आज नेपाल डेरीको लोकप्रियता बढेको देखेर हेरम्ब आफ्नो उतिबेलाको सोचाइलाई धन्यवाद दिँदैछन्। अनि निरन्तरता दिने मन र शरीरलाई पनि। उनीसँग काम गर्ने सातै जना रिटायर्ड छन्। बूढो शरीर हैन परिपक्व मन लिएर कर्म क्षेत्रमा जुटेका छन्।

बिरुवा हुर्कंदै बढ्न र झांगिन समय लाग्छ। समयसँगै हुर्केको हरेक बिरुवालाई कसै न कसैको साथ हरदम भइरहेको हुन्छ। हेरम्बलाई पनि अमेरिकाको मिनिसोटा युनिभर्सिटीका प्रोफेसरको मद्दतले आज अगाडि लाग्न सजिलो भएको छ। जसले टेक्निकल्ली खुब मद्दत गरेका छन्।

डेरी व्यवसाय प्लेजर पास्ट टाइम होइन। त्यसमा दशैं तिहार भन्ने हुँदैन। दशैंमा दूधको व्यापार गर्नेले व्यापक खट्नुपर्छ। कुनै दिन चाडवाड भन्न पाइँदैन। एउटा आजीवन कैदीसरह भएर बस्नुपर्दछ। यी सबै भए पनि दूधको धेरै व्यापार गर्न सकिन्छ। मात्र देख्न सक्ने आँखा चाहिन्छ। स–साना युनिटमा पनिर उत्पादन गर्न सकिन्छ। मोजेरेला चिज पिज्जा एजेन्सी लिएर पसल खोल्न सकिन्छ। खुवा बनाउन सकिन्छ। पाउडर बनाएर राख्न सकिन्छ। हरेक छ गर्नेलाई, नगर्नेलाई केही छैन।

भेज होस् या नन भेज। साधु सन्त होस् वा महन्त महाराज। सबलाई दूध नभई हुँदैन। बालक हुन् वा वृद्ध सबै दूधमा लिसो टाँसिएझै टाँसिएका छन्। मिठाइमा होस् वा केकमा जुनमा पनि दूध चाहिन्छ। जति–जति यो कंक्रिटको जंगल बढ्दै छ दूधको माग उति–उति बढ्दो छ। हिजो दूधको व्यापार गर्ने गोपालवंशीहरू राजा नै थिए। आज डा. हेरम्ब यही दूधको व्यापार गरेर राजर्षि ठाटमा हिँड्न सक्ने भएका छन्।

आमाको दूधको भारा कति तिरे कति तिरेनन् हेरम्बले। कृषकको देश नेपाललाई भने उनले दूग्ध विकास उद्योगको शुरूआत गरेर राम्रै गुन लगाएका छन्। त्यसमा उनले पैसा कमाएका छन् भने सिंगो समाज र राष्ट्रले नदेखेको कुरा देखाएका छन्।

जन्मँदै ठूला मान्छे हैनन् हेरम्ब। टाइपिस्टको जागिरबाट सेवा शुरू गरेका हेरम्बले पढाइ अगाडि बढाउँदै लगे। दिउँसो जागिर राति कलेज पढेर उनले इन्टरमिडियट सके। विसं २०११ मा बीएस्सीको कोलम्बो प्लानमा छनोट भएर कृषिविज्ञान पढे। त्यसैगरी २०१९ सालमा फिलिपिन्सबाट एमएस्सी गरे डेरी साइन्समा। विद्याव्यसनी हेरम्बले २०२६ सालमा रकफेलर ग्रान्टमा डेरी साइन्समै पीएचडीड गरी डाक्टर हेरम्ब बने। दूग्ध पदार्थ र डेरीसँगको किताबी नाता प्राक्टिकलमै उतार्न उनले डेरीबाट कहिल्यै नछुुटिने गरी अमृतको व्यापारमा लागेका होलान्।

प्रतिक्रिया दिनुहोस्