यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण, २९ को मृत्यु, कयौं घाईते



काठमाडौं । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेको बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले जानकारी दिएको छ । तर, यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।घटनामा कसको संलगनता रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको छ ।
राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुनेगरी भएको रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ ।

गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका आइसीआरसीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्