गुनगुनको आइटम



निर्माणाधिन फिल्म गुनगुनको आइटम गीत सार्वजनिक गरिएको छ। अभिनेता पुकार भट्टराईको निर्माण र निर्देशनमा निर्माणाधिन फिल्मको किस मिस बोलको आइट गीत सार्वजनिक गरिएको हो।

यसको भिडियोमा चन्दा दाहाल आइटम गर्लका रूपमा प्रस्तुत भएकी छिन्। कमल पौडेलको शब्द र महाराज थापाको संगीत रहेको गीत सुनीता कार्कीले गाएकी छिन्। यसको कोरियोग्राफी रामजी लामिछाने गरेका छन्। कथा अगाडि बढाउन यो आइटम गीत महत्वपूर्ण भएको निर्माता निर्देशक पुकार भट्टराईले बताए।

आगामी कात्तिक ३० गते अल नेपाल रिलिज हुने फिल्म प्रार्थना फिल्म्स्को ब्यानरमा बनेको छ। सञ्चिता लुइँटेल, रवीन्द्रप्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जीसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपीन प्रसार्इं र स्वयं निर्देशक भट्टराईले प्रमुख भूमिकामा अभिनय गरेको फिल्ममा हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ। प्रेमकथा बुनिएको फिल्म आगामी सेप्टेम्बर ३० मा अस्ट्रेलियामा वल्र्ड प्रिमियर गरिने भट्टराईले बताए। ‘कलाकारितामा सँगालेको अनुभवलाई यसमा निर्माता र निर्देशकका रूपमा प्रयोग गरेको छु। सर्ट फिल्म र भाषाभाषीको फिल्म त निर्माण गर्दै आएको थिएँ, फिचर फिल्म भने पहिलो हो’, पुकारले भने– ‘फिल्ममा प्रेमकथासँगै सामाजिक विषयवस्तु पनि छ।’

प्रतिक्रिया दिनुहोस्