एसिया कप छनोटका लागि नेपाली टोलीको घोषणा



काठमाडौं, (नेस)
आगामी भदौमा मलेसियामा हुने एसिया कप छनोट प्रतियोगितामा सहभागि हुनका लागि १९ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

पारस खड्कासहित १९ खेलाडीलाई क्याम्पमा राखिनेछ र यसबाट अन्तिम १५ खेलाडीको टोली छनोट हुनेछ । जुन टोलीले मलेसियामा प्रतिस्पर्धा गर्नेछ । नेपालले भदौ १३ गते ओमानसँग खेल्नेछ । त्यस्तै भदौ १४ गते युएईसँग, भदौ १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्नेछ ।

छनोट प्रतियोगितामा विजेता बन्ने टोलीले आगामी भदौ ३० गतेदेखि असोज १० गतेसम्म युएईमा हुने एसिया कपमा खेल्न पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेस र अफगानिस्तानसहित एसिया कप छनोट प्रतियोगिताको विजेता टोली गरी ६ टोलीले खेल्नेछन् ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले नेपालको ब्याटिङ सल्लाहकारका लागि भारतीय प्रशिक्षक अपूर्व देसाईलाई नियुक्ति गरिएको छ । त्यस्तै नेपालले छनोट प्रतियोगिता अगाव श्रीलंकामा तीन अभ्यास खेल खेल्नेछ । ब्याटसम्यान सरद भेषवाकर भने चार साताको लागि विश्राममा हुनेछन् ।

नेदरल्यान्डस्मा भएको वानडे सिरिजअन्तर्गत पहिलो खेलमा औंलामा चोट परेर उनले दोस्रो वानडे खेल्न पाएको थिएन । उनको दायाँ हातको कान्छी औंला भाँच्चिएको छ । प्रशिक्षक जगत टमाटाका अनुसार उनलाई यो चोटबाट मुक्त हुन चार साता लाग्नेछ ।

नेपाली टोलीः पारस खड्का, अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आसिफ शेख, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनील धमला र सुसन भारी ।

प्रतिक्रिया दिनुहोस्