डिफेन्डिङ च्याम्पियन अरहान्त सेमिफाइनलमा



काठमाडौं, (नेस)
अघिल्ला दुई संस्करणका डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिम्ह तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्वकास प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

बिहीबार भएको क्वार्टरफाइनल खेलमा अरहान्तले राकेश गुप्तालाई ३–० को सोझो सेटमा हराएका हुन् । त्यस्तै पूर्व च्याम्पियन अमृत थापा मगर पनि अन्तिम चारमा प्रवेश गरेका छन् । उनले सुगम तुल्सानलाई ३–० कै सेटमा पराजित गरेका थिए । अन्तिम चारमा पुग्ने क्रममा राजेन्द्र शाक्यले ज्ञानु चौधरी र प्रवीणवीरसिंह कंशाकारले दिलीप अधिकारीलाई समान ३–० कै सेटमा पन्छाए । सेमिफाइनल खेल आज हुनेछ ।

प्रतियोगिताअन्तर्गत महिला सिंगल्समा डिफेन्डिङ च्याम्पियन भावना सुनुवारले कृष्णा थापासँग उपाधि भिडन्त पक्का गरेकी छिन् । भावनाले स्वस्थानी श्रेष्ठलाई ३–० ले हराएकी थिइन् । त्यस्तै कृष्णाले विपना ब्लोनलाई सोही ३–१ को सेटमा हराएकी थिइन् ।

यस्तै यु–१५ ब्वाइज सिंगल्समा विकास मगरले रोहन नेपालीलाई र सलिन थापा मगरले राजेश परियारलाई समान २–० ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । सोही स्पर्धाको गल्र्समा सपना ब्लोनले आयुशा श्रेष्ठ तथा मुस्कान राउतले श्रीमाया लामाको चुनौती समान २–० सेटले नै समाप्त पार्दै फाइनलमा स्थान पक्का गरे ।

मास्टर्स ५० वर्षमाथि सिंगल्समा दिलिप अधिकारीले अनिल वज्राचार्यलाई ३–२, सुरेश गुरुङले किशोर महर्जनलाई ३–० तथा इन्द्रबहादुर कार्कीले मनोजबहादुर श्रेष्ठलाई ३–० को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरेका थिए । सुदीपबहादुर सिंह भने प्रेम सिंहबाट वाक ओभर पाउदै अन्तिम चारमा पुगे ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्