ट्रिपर रोकिँदा समस्यै समस्या



मोतीराम तिमल्सिना, काभ्रे
उपत्यका भित्र राति मात्रै ट्रिपर संचालन गर्ने प्रशासनको निर्णय पछि ब्यवसायीहरुले त्यसबाट उत्पन्न परिस्थितीका बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

बाग्मति ट्रिपर ब्यवसायी संघले जिल्लाका सांसद, नगर प्रमुख, पत्रकार र सरोकारवाला ब्यक्तिहरु र प्रशासनलाई समेत जानकारी गराएको छ ।

विकास निर्माणका लागि महत्वपूर्ण ढुवानीको साधन मानिदै आएको ट्रिपर रोकिँदा विकास निर्माणको कार्यमा प्रतिकुल असर परेको, निर्माण ब्यवसायी र भुकम्प पीडितहरु समेत सकंटमा परेको भन्दै पुर्नविचार गर्न माग गरेका छन् । बाग्मति ट्रिपर ब्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले ब्यवसायीहरुले माग बमोजिमको ढुवानी गर्न नसकेको बताए ।

काठमाडौ उपत्यकामा करिव २ हजार २ सय देखि २ हजार ५ सय टिपर संचालनमा रहेको र दैनिक ५ हजार ट्रिप खपत हुँदै आएको छ । उपत्यकाको चक्रपथमा मात्रै टिपर चलाउन रोक लगाएको अवस्थामा भक्तपुर जिल्लाले दिनको समयमा अन्यत्र पनि टिपर चल्न रोक लगाउँदै आएको ब्यवसायीहरुको गुनासो छ । सिन्धुली तथा काभ्रेको पनौतीमा रातको समयमा टिपर चलाउन नपाईने ब्यवस्था छ । साँझ निर्माण सामाग्री लिएर काठमाडौ आउने गाडी उपत्यकाको सिमाना साँगाबाट भित्र आई सामान ढुवानी गर्दा राति अबेर १÷२ बज्ने गरेका कारण चालकले सुत्न नपाउँदा दुर्घटना झनै बढ्न थालेको छ ।

सरकारले उपत्यकामा दिउसो टिपर चलाउन नदिने हो भने थप सवारी साधनको आवश्यकता भएको ब्यवसायीहरुले बताएका छन् । अहिले भएका सवारी साधन धेरै भएकाले सवारी चापका कारण बढ्दो ट्राफिक अस्तब्यस्त थप २५ सय टिपर झिकाउँदा विकराल समस्या आउने अध्यक्ष कुवँरले बताए ।

थप सवारी साधन आउँदा अराबौ रुपैया विदेशिने, सडकमा ट्राफिक जाम हुने, २ सय प्रतिशतसम्म कर बृद्धि भएको अवस्थामा गाडी अथार्त मेसिनरी सामान संचालन रोक लगाउँदा गाडि ब्यवसायीलाई आर्थिक हानिको अलावा मेसिनको उत्पादन क्षमता कम या हस हुने, मर्मत सम्भारको खर्च बढ्ने, विकास निर्माणको कार्यको गति ढिलो हुने उपाध्यक्ष सुरेश खत्रीले बताए ।

टिपरको दुर्घटनामा धेरै मोटरसाईकल र स्कुटर मात्रै भएकाले दुर्घटना न्युनिकरण गर्न टिपर चालकसँगै मोटरसाईकल र स्कुटर चालकहरुलाई पनि जनचेतना गर्नु पर्ने ब्यवसायीहरुले बताएका छन् ।

ट्राफिक लेन अनुशासनको प्रभावकारी एवं कडाईका साथ पालना गराउने, निश्चित समय, निश्चित ठाउँ, क्षेत्रमा टिपर संचालनमा रोक लगाउन ब्यवसायीहरुले माग गरेका छन् । कुनै जिल्लामा दिनको समयमा, कुनै जिल्लामा रातको समयमा रोक लगाउँदा ब्यवसाय हुन नसकेको ब्यवसायीहरुले बताएका छन् ।

बैकको ऋण लिएर ब्यवसाय संचालन गरिएको टिपर संचालनमा रोक लगाउँदा ब्यवसाय नै धरापमा परेको र ब्यवसायीहरु पनि धरापमा परेको भन्दै ब्यवसयाीहरुले रातिको समयमा मात्रै टिपर चलाउन पाउने निर्णयलाई पुर्नविचार गर्न आग्रह गरेका छन् । जिल्लामा विहानको समयमा खाली टिपर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

राति निर्माण सामाग्री अनलोड गर्दा निर्माण सामाग्रिहरु जस्तै ईटा,, गिट्टी, ढुंगा खसाल्दा चर्काे स्वर निस्कने भएकाले वरपरका सर्वसाधारणहरुको निन्द्रा विग्रने, रातको समयमा आवाज ठुलो सुनिने हुँदा ध्वनी प्रदुर्षण हुने र वरपरका ब्यक्तिहरुले टिपर चालकहरुलाई गाली गलौज गर्ने, लखेट्ने, पिट्ने समेत गर्न थालेका छन् । राति मात्रै टिपर चल्दा चालकहरुको अभाव हुन थालेको छ ।

युवाहरु विदेशिने क्रम शुरु भएको छ । राति निर्माण सामाग्री उत्पादन गर्ने उद्योग बन्द भएको, चालकहरुको बाध्यात्मक विदेश पलायन हुन थालेको, विकास निर्माणको लागि पर्याप्त निर्माण सामाग्री उपलब्ध गराउन नसकेको ब्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्