मिसनमा नेपाली मिडिया




-चिरञ्जीवी मास्के
सामाजिक सञ्जालमा बेला–बेलामा केही थान फोटो, केही भिडियो र केही अभिव्यक्तिहरु भाइरल हुने गरेका छन् । पछिल्लोपटक डा. गोविन्द केसीसँग फोटो सेसन गराएका फोटोहरु भाइरल भएका छन् । जसमा राजनीतिज्ञ, अधिकारकर्मी, नागरिक प्रतिनिधि, सञ्चारकर्मीहरुको मुहार देख्न सकिन्छ ।

त्यति बेला विशेष गरी ठूला मिडियाका सम्पादकहरुले केसीसँग गरेको फोटो सेसनले निकै चर्चा पायो । धेरैले बिग हाउसका सम्पादकहरुको फोटो सेसनलाई मिडियाको मिसनसँग जोडेर पनि हेरे । हाम्रो नेपाली मिडियाको मिसन कता जाँदै छ ? यसले कसको हित गर्न खोजिरहेको छ ? सामाजिक सञ्जालमा केही सर्वसाधारण, केही राजनीतिज्ञ र केही बौद्धिक वर्गले मिडियाको मिसनको बारेमा प्रश्न, जिज्ञासा र चासो व्यक्त गरेका छन् । अब यसको जवाफ दिने या यस्ता कुराबाट सतर्क रहने÷नरहने, मिडियाकर्मीहरुमै निर्भर गर्दछ ।

नेपाली मिडियाको पछिल्ला मिसन हेर्दा व्यावसायिक पत्रकारिता राम्रै फस्टाएको भान हुन्छ । कसैको उक्साहटमा, कसैको लहैलहैमा, कसैको आक्रोश र आग्रहमा व्यावसायिक ढङ्गले मिसन पत्रकारिता अगाडि बढेको देखिन्छ । मिडिया परिवर्तनको संवाहक हो ।

सरकार कुनै पार्टीको हैन, सरकारको नेतृत्व मात्र पार्टीले गर्ने हो ।सरकारले मुलुकको संविधान, ऐन–कानुन विपरीत काम गर्न सक्दैन । सरकारको नेतृत्व गर्ने पार्टीले आफ्नो पार्टीको घोषणापत्रका विषय मुलुकको एक कानुनको परिधिभित्र राखेर अगाडि बढाउन मात्र सक्ने हो । त्यसैले सरकारले अघि सार्ने हरेक कुरा पार्टीको हैन, मुलुकको हुन्छ । हो, यो विषय मिडियाको मिसन बन्नुप¥यो ।

मिडियामा आउने हरेक विषयवस्तुले विशेष महत्व राख्दछ । मिडियाले सामान्य विषय मात्र हैन राष्ट्रिय महत्व, राजनीतिक महत्वका गम्भीर विषयहरुमा समेत निर्णायक भूमिका खेल्ने तागत राख्छ ।

त्यसैले यति धेरै शक्तिशाली मिडियालाई दुरुपयोग या गलत मनसायसहित अति सदुपयोग गरियो भने पनि परिणाम भयावह आउन सक्छ । कतिपय मानिसले विभिन्न मिडियामा प्रस्तुत हुने बिहानीको सन्देश (समाचार) बाट आफ्नो दृष्टिकोर्ण बनाउने गरेको उदाहरणहरु पनि प्रशस्तै छन् । त्यसैले हरेक मिडियाकर्मीहरुले आफ्नो मिडियालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा एकपटक हैन, पटक–पटक सोच्नु आवश्यक हुन्छ ।

मिडियाकर्मीहरुको पनि आफ्नो स्वतन्त्रता हुन्छ । त्यसमा कुनै द्विविधा छैन । तर हरेक मिडियाकर्मीको विचारले समाजलाई तरङ्गित बनाउने भएकोले कहिलेकाहीँ मिडियाकर्मीहरुले आफ्नो स्वतन्त्रतालाई कुण्ठित बनाउँदै संवेदनशील ढङ्गले विचार प्रवाह या सहभागिता जनाउनुपर्ने हुन्छ ।

विशेष गरी राजनीतिक विद्रोहको अवस्था, हिंसात्मक घटनाको अवस्था, शिक्षा, स्वास्थ्य र व्यक्तिको गोपनीयता र मान–प्रतिष्ठाको विषयमा हरेक मिडियाकर्मी सचेत र संवेदनशील हुनै पर्छ । शायद यी सबै विषयवस्तु व्यावसायिक पत्रकारिताको धर्मभित्र पर्दछ । र, सफा मनसायसहित गरिने मिसन पत्रकारिताभित्र पनि पर्दछ । तर कतिपय अवस्थामा मिसन पत्रकारिताले पित पत्रकारितालाई सहयोग गरिरहेको सन्दर्भमा व्यावसायिक पत्रकारिता व्यावसयिक मिसन पत्रकारिता बन्न नसकेको तीतो यथार्थतालाई समेत हामीले आत्मसात् गर्नै पर्छ ।

डा. गोविन्द केसी अनशन बसेको बेला मिडियाले हरेक कोणबाट समाचार, विचार र विश्लेषणहरु प्रस्तुत गरेको देखियो । ती समाचार, विचार र विश्लेषणहरुले त्यति बेला समस्याको समाधान खोजेको थिएन । त्यसले त केसीलाई उक्साइरहेको थियो । त्यति बेला मिडियाले सरकारको राम्रो काम पटक्कै देखेन, देख्यो त खाली सरकारको कमजोरी । तर मिडियाले असाध्य खेदेको सरकार प्रमुख प्रधानमन्त्री केपी ओलीको पहलमा डा. केसीसँग सफल वार्ता गरेर समस्याको समाधान खोजिएको कुरालाई हाम्रो मिडियाले महत्वपूर्ण ठान्दै ठानेनन् । बिरामी मानिस राति २ बजेजसम्म सक्रिय रहेर समाधान खोजेको कुरा खासै समाचारको विषय हुन सकेन । यसबाट पनि नेपालको मिडियाको मिसन बुझ्न गाह्रो पर्दैन ।

विगतमा डा. केसीले अनशन बस्ने, सरकारले उनले उठाएको सबै माग हुबहु पूरा गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्ने अनि माग पूरा गर्ने कुरामा बेवस्ता भएपछि फेरि डा. केसी अनशन बस्ने परिपाटी देखियो । के अबको अवस्था पनि यस्तै हुनुपर्ने हो त ? सरकारले सबै माग पूरा गर्छु भन्ने, हस्ताक्षर गरेको केही घन्टामै सहमति उल्लंघन गर्ने र डा. केसीले फेरि अनशन शृङ्खला शुरु गर्ने ।

त्यसो हैन भने अब सरकार र डा. केसीबीच जे–जे कुरामा सहमति भएको छ त्यसको राम्रा, नराम्रा पक्षको बारेमा मिडियाले किन नलेख्ने ? अनि डा. केसीको जायज माग तत्काल पूरा गराउन सरकारलाई किन दबाब नदिने ? र, डा. केसीको मागमा कुनै कमी–कमजोरी छन् भने त्यसलाई औंल्याएर सुधारको लागि डा. केसीलाई किन दबाब नदिने ? के यो विषयचाहिँ मिडियाको मिसन हुनै नहुने ?

मिडियाको मिसन जहिले पनि स्वार्थमा केन्द्रित हुने गरेको देखिन्छ । जता भीड दौडिएको छ, जता स्वार्थ जोडिएको छ, त्यतै मिडियाको मिसन केन्द्रित हुन थालेको देखिन्छ । यसले गर्दा पत्रकार र पत्रकारिताप्रति आमनागरिकको विश्वासमै सङ्कट देखिन थालेको छ । मिडिया जहिले पनि सत्ताको विपक्षमा हुन्छ, त्यसमा कुनै द्विविधा छैन । यो अन्तर्राष्ट्रिय मान्यता र प्रयोग पनि हो । तर सत्ताको विपक्षमा हुनु भनेको सरकारले गर्ने हरेक काममा विरोध गर्ने र आगोमा घिउ थप्ने काम मात्र पक्कै हैन ।

अहिले नेपालका मिडियाले जसरी सत्ताको विपक्षमा भूमिका खेलिरहेका छन्, त्यो स्वार्थमा केन्दिद्रत छ । मिडियाले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धिको लागि सरकारलाई खबरदारी गर्दै विपक्षको भूमिका खेल्नुपर्छ । अहिले हाम्रा मिडियाले खेलेको भूमिकाले मुलुकको विकासमा हैन, मुलुकमा विवाद उत्पन्न गराउनचाहिँ सहयोग पु¥याइरहेको छ ।

वर्तमान सरकारले विकास र समृद्धिको अभियान अगाडि बढाएको छ । त्यो अभियानमा रेल सपना, तुइन विस्थापन सपना, पानीजहाज सपना, घर–घरमा ग्यास पाइप सपना बुनिएको छ । त्यो सपना रातमा देखिएको सपना हैन, दिनमा देखिएको सपना हो ।

त्यो सपनालाई साकार बनाउन व्यावसायिक पत्रकारहरुले किन त्यसलाई मिसन बनाएर अगाडि नबढ्ने ? के मुलुकको समृद्धिको सपना केपी ओली या नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्व सरकारको मात्र हो र ? समृद्धिको सपना आमनेपालीको सपना हो । भोलि नेपाली कांग्रेस या अन्य राजनीतिक दलले मुलुकको समृद्धिको लागि योजना बनायो भने, सपना देख्यो भने, आमपत्रकारले त्यसलाई पनि मिसन बनाएर अगाडि बढ्नुपर्छ ।

नेपालको पत्रकारिता व्यावसायिक बन्दै गएको छ । त्यो पक्कै पनि खुशीको कुरा हो । पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएकोले पनि नेपालमा संख्यात्मक मात्र हैन गुणात्मकरुपमा समेत पत्रकारहरुको संख्या बढ्दै गएको छ । तर बेला–बेलामा ख्याति कमाएको मिडियाले मिसनलाई गलत ढङ्गले अगाडि बढाउँदा समस्या निम्तने गरेको छ ।

पत्रकाहरुले मुलुकको विकास र समृद्धि चाहेको हो भने अबको मिसन व्यावसायिक तथा विकास पत्रकारितामा केन्द्रित हुनुपर्छ । सरकारले मुलुकको विकास र समृद्धिको लागि घोषणा गरेको कार्यक्रमहरुको बारेमा आमपत्रकारले निगरानी गर्दै घोषित कार्यक्रम कति पूरा भए, कति पूरा हुन सकेनन्, पूरा हुन नसक्नुको कारण के हो ? घोषित कार्यक्रम अगाडि बढाउन कतै अवरोध पो छ कि ? सरकार आफैंले कार्यक्रम अगाडि बढाउन नचाहेको हो कि ?

यस्ता विषयलाई पत्रकारहरुले मिसन बनाएर अगाडि जान सकेको खण्डमा अहिलेको स्थिर सरकारले मुलुकको विकास र समृद्धिको लागि केही न केही काम पक्कै गर्न सक्नेछ । पत्रकारहरुले सरकारको हरेक गतिविधिलाई नकारात्मक रुपमा मात्र हेर्ने र त्यसैलाई मिसन बनाएर खेदिरहने हो भने जुनसुकै पार्टीको सरकार बने पनि विकास र समृद्धि सम्भव हुँदैन ।

केपी ओलीको केही सपना पूरा हुँदै पनि गएका छन् । तुइन विस्थापनको काम धमाधम भैरहेको छ । यो अभियानमा गायक आनीले एक करोड रुपियाँ सहयोग गर्नुभयो । खै यो विषय मिडियाको मिसन बन्न सकेको ? विराटनगरमा पाइपबाट घर–घरमा ग्यास पु¥याउने काम भैरहेको छ । खै यो कुरा मिडियाको मिसन बन्न सकेको ?

सरकार कुनै पार्टीको हैन, सरकारको नेतृत्व मात्र पार्टीले गर्ने हो ।सरकारले मुलुकको संविधान, ऐन–कानुन विपरीत काम गर्न सक्दैन । सरकारको नेतृत्व गर्ने पार्टीले आफ्नो पार्टीको घोषणापत्रका विषय मुलुकको एक कानुनको परिधिभित्र राखेर अगाडि बढाउन मात्र सक्ने हो । त्यसैले सरकारले अघि सार्ने हरेक कुरा पार्टीको हैन, मुलुकको हुन्छ । हो, यो विषय मिडियाको मिसन बन्नुप¥यो ।

पत्रकारले सरकारको हरेक गतिविधिलाई नजिकबाट नियाल्नुपर्छ र त्यसलाई सकारात्मक पाटोबाट हेर्दै सरकारको कमजोरी छ भने त्यसमा सुधार गराउन सहयोग गर्नुपर्छ । राम्रो कामलाई सहयोग र उत्साहित बनाउनुपर्छ । नेपालको पत्रकारितालाई व्यावसायिक बनाउन मिसन पत्रकारिता अहिलेको आवश्यक हो तर त्यो मिसन सकारात्मक कोणबाट शुरु हुनुपर्छ । विकास र समृद्धिको कोणबाट शुरु हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्