सप्लायर्सको सेटिङ्गमा करोडौं भ्रष्टाचार, शौचालयको प्यान र साईफनको मुल्य दोब्बर



मोतीराम तिमल्सिना, काभ्रे
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेले बजार भन्दा दोब्बर मुल्य राखी शौचालयको प्यानमा बैद्यानिक भ्रष्टाचार गरेको खुलासा भएको छ ।

सो कार्यालयले सञ्चालन गरेको झण्डै डेढसय योजना मध्य बोलपत्रद्धारा गरिएको ७० प्रतिशत योजनाको विज्ञापन समेत लुकाइएको पाइएको छ ।


शौचालयमा प्रयोग हुने प्यान र साईफन एउटै मुल्यमा खरिद हुने गरे पनि कार्यालयले फरक फरक दररेट कायम गरी दोब्बर मुल्य बनाई अनियमितता गरेको पाइएको छ ।

कमिशन बापत आएको करोडौं रुपैयाले सम्बन्धित निकायमा सेटिङ मिलाएपछि कस्ले छानविन गर्ने ?

सेफ्टीप्यान र साईफन एउटै सेटमा आउँछ । खरिद विक्रीमा एउटै हुन्छ । साईफन र सेफ्टीप्यान अलग अलग गरेर हिसाव समेत हुँदैन । तर कार्यालयले सेफ्टीप्यान र साईफन अलग अलग राखेर हिसाब गरेको पाइएको छ ।

महाभारत गाउँपालिकालाई १ हजार २ सय ५० र खानीखोला गाउँपालिकालाई १ हजार वटा प्यान पठाउँदा २ हजार २ सय ५० थानको १ हजार ६ सय ३३ रुपैयाका दरले भुक्तानी गरिएको छ । बजारमा ८ सय रुपैया पर्ने प्यानलाई १ हजार ६ सय ३३ रुपैया मुल्य कायम गरी पठाइएको छ । १ हजार ९ सय ८६ मिटर पाईपको २ सय ५० का दरले भुक्तानी गरिएको छ ।

यसबाट प्राप्त हुने कमिशन कार्यालयका हाकिम देखि सम्बन्धित मन्त्रालयका उच्च अधिकारीलाई समेत भागवण्डा लाग्ने स्रोतले दावी गरेको छ । जिल्लामा रहेको अन्य स्थानीय तहमा प्यान पाईप उपलब्ध गराईएको छैन ।

कमसल खालको प्यानको मुल्य साविक भन्दा दोब्बर राखिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख रामचन्द्र काफ्ले, लेखा अधिकृत सरोज अधिकारीको मुख्य डिजाईनमा इन्जिनियरहरुले तयार गरेको नक्कली कागजातका आधारमा करोडौ रकमको दुरुपयोग भएको छ ।

मन्त्रालय र विभागबाट सेटिङ्गमै आएका कार्यालय प्रमुख काफ्लेले नियमित कमिसन र फर्जि कागज मार्फत झण्डै डेड करोड कमिसन भेट्टाएको दावी गरिएको छ ।

कार्यालयमा शेखरनाथ खनाल, भुषणकृष्ण मल्ल र राजेन्द्रप्रसाद श्रेष्ठ इन्जिनियर छन् । यी मध्ये खनाल गत असार महिनामा मात्रै उपभोक्ता समितिसँग घुस लिँदा लिदै पक्राउ परेका थिए । खनाल अहिले धरौटीमा रिहा भई भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

कमिसनको अंश विभाग र क्षेत्रीय कार्यालयका प्रमुखहरुसम्म पुग्ने गरेको छ ।बेथाञ्चोक गाउँपालिका, तेमाल गाउँपालिकाबाट त्यस्ता कोसेली इन्जिनियर र कार्यालय प्रमुखहरुको कार्यकक्षमै भित्रने गरेको कर्मचारीहरुले बताएका छन् ।

अस्थायी दरवन्दीमा रहेका राजेन्द्र जोशी १५ दिनमा एक दिन कार्यालय आएर हाजिर गरेर राजधानी बसेर ब्यवसाय गर्दै आएका छन् । कार्यालय प्रमुख काफ्लेले उनिहरुसँग लिने कमिसनका कारण सबै गतिविधिमा सहमति जनाउदै आएका छन ।

नाम नै नसुनिएका र सप्लायर्सकै लगानी रहेको बजारमा विक्री नै नगर्ने पत्रिकामा सूचना प्रकाशन गरेर मिलेमतोमा टेण्डर हाल्ने गरेको पाइएको छ । सप्लायर्स धुर्व नेपालको लगानी रहेकोे पत्रिकामा निकालिएको सुचना अधिकाशं निर्माण व्यवसायीहरुले पत्तै नपाएको गुनासो गरेका छन् । यस्तै प्रयोजनलाई मात्रै निकालिएको पत्रिकामा टेण्डर आव्हानको प्राय सबै सुचना निकालिएको पाइएको छ ।

नेपाल ब्रदर्स सप्लायर्सका नाममा धुर्व्र नेपालले उक्त कार्यालयमा पाईप फिटिङ्गको सप्लाई गर्न बोलपत्र पारेको भए पनि विद्युतीय सामान समेत खरिद गरी सप्लाई गर्दै आएको छ । ठेक्का पट्टाका हरेक सूचना आफ्नै पत्रिकामा प्रकाशन गर्ने, आठ÷दशवटा पत्रिका मात्र सम्बन्धि निकायमा मिति गुज्रियपछि लैजाने र आफै तीनवटा फर्मको बोलपत्र दर्ता गर्ने अनि कार्यालय प्रमुख, लेखा प्रमुखको मिलेमत्तोमा बोलपत्र पार्ने काम हुँदै आएको छ ।

कार्यालयबाट भएका झण्डै डेढ सय योजनामा केही उपभोक्ताबाट गराएको भए पनि ७० प्रतिशत योजना बोलपत्रको माध्यबाट गराईएको छ । एउटै ठेकेदारले मिलेमतोमा ७ वटा सम्म योजना प्राप्त गर्न सफल भएका छन । साउनको तेश्रो हप्ता समेत असार मसान्तको कोटेसनको काम भईरहेको छ ।

कोशिपारी सुख्खा क्षेत्रका नाममा काम नै नभई भुक्तानी गरिएको छ । रनिङ्ग विलमा भुक्तानी दिईएको छ तर काम भएको छैन । थुपै्र योजनामा चेक काटिएको छ तर चेक लगिएको छैन । काम पनि सम्पन्न भएको छैन ।

कार्यालयमा अधिकांश सामान दाखिला नै नभई कम्पनीबाटै पठाईएको पाइएको छ । त्यसको गुणस्तर समेत हेरिएको छैन ।

आर्थिक वर्ष सकिन ७ दिन बाँकी हुँदा ७ करोड ३९ लाख भन्दा धेरै रकम केन्द्रबाट प्राप्त गरी खर्च गरिएको छ ।

३७ करोड करोड ६४ लाख ८१ हजार रुपैयामा ५ करोड भन्दा धेरै रकम मिलेमतोमा बैधानिक कसिमन निकालिएको श्रोतले बतायो । यस बारेमा नेपाल समाचारपत्रले जिज्ञासा राख्दा कार्यालय प्रमुख रामचन्द्र काप्mलेले नियम अनुसार सबै काम भएको प्रतिक्रिया दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्