प्रदेश सरकारको निर्णय कार्यान्वयन भएन



सरोज यादव, विराटनगर ।
एक नम्बर प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदाको निर्णय प्रदेशभित्रै उल्लंघन भएको छ । सूचना जारी गर्दै प्रदेश सरकारले बिदाको जानकारी गराएपनि सरकारी कार्यालयहरु आज दिनभरि सुचारु भएका छन । यसले संघीय कार्यान्वयमा गंभीर संकट देखा परेको छ ।

प्रदेश एकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार मन्त्री परिषदको निर्णय अनुसार साउन २४ गते विश्व आदिवासी दिवसमा बिदा दिने सूचना जिल्ला प्रशासन कार्यालय मोरङलाई पठाएको थियो । तर त्यो निर्णय जिल्ला प्रशासन सहितका सरकारी कार्यालयहरुले उल्लंघन गरेका छन । बिहीबार जिल्ला प्रशासन कार्यालय सहितका सरकारी कार्यालयहरु खुलेका छन । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई नियमित झैं सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयजस्तै जिल्ला अदालत मोरङ, मालपोत कार्यालय र नेपाल बैंक लिमिटेड सहितका अन्य निकायहरुले पनि नियमित सेवा सुचारु राखेका थिए ।

सामाजिक संजालको माध्यमबाट प्रदेश सरकारको बिदाको निर्णय समुदायमा गएकाले सेवाग्राहीको उपस्थिति एकदमै पातलो भएपनि सरकारी मातहतका सबै कार्यालयका कर्मचारीहरु कार्यालय समयमा हाजिर भएर सेवाग्राही रुंग्दै बसेका थिए । प्रदेश सरकारको निर्णयलाई स्थानीय तहका निकायहरुले मान्यता दिएका छन । स्थानिय तह अन्र्तगतका विराटनगर महानगरपालिका सहित वडा कार्यालयहरु बिहीबार दिनभरि बन्द भएका छन भने शैक्षिक संस्थानहरु समेत बन्द भएका छन । प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको बिषयमा जिज्ञासा राख्दा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गृह मन्त्रालयबाट कार्यालयहरु बन्द गर्ने निर्देशन नआएका कारण पूर्ववत् सुचारु राखिएको जानकारी दिनुभयो ।

सो विषयमा प्रतिक्रिया दिनुहुंदै मालपोत कार्यालय विराटनगरका अधिकृत देवीप्रसाद भट्टराईले मालपोत कार्यालय संघीय सरकारको मातहतमा रहेकाले सेवालाई निरन्तरता दिइएको जानकारी दिनुभयो । यता प्रदेश सरकारको विदाको निर्णय उल्लंघन भएकोमा सरोकारवालाहरुले आपत्ती जनाएका छन । प्रदेश सरकारको निर्णय प्रदेशभित्रै कार्यान्वयन नहुनु संघीयताको उपहास भएको उनिहरुको प्रतिक्रिया छ । नेपाल सरकारले राजपत्र पकाशित गरी प्रदेश एकमा विभिन्न ४ वटा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । जसअनुसार साउन २४ गते प्रदेशभरि विश्व आदिवासी दिवसको विदा दिने उल्लेख गरिएको छ ।

यस्तै भाद्र १० गते प्रदेशभरि जनै पुर्णिमाको बिदा ,भाद्र १८ गते सुनसरी–मोरङमा राधाकृष्ण रथयात्रा र कार्तिक २७ गते प्रदेशभरि छठ पुजाको विदा दिने उल्लेख गरिएको छ । साउन २४ को बिदा कार्यान्वयन नभएजस्तै प्रदेश सरकारले दिएको अन्य विदाहरु पनि कार्यान्वयन हुने कुरामा शंका पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्