बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण



नेपाल समाचारपत्र, काठमाडाैँ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गर्नुभएको छ ।
प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्नुहुनेछ ।
सैनिक परम्परानुसार प्रधानसेनापति क्षत्रीले बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गर्नुभएको छ । बलाधिकृत रथी थापालाई यही साउन १० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम शुक्रबारदेखि लागु हुने गरी प्रधानसेनापतिमा कामु मुकर्रर गरिएको थियो ।

बुझबुझारथपछि कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्ने प्रयासस्वरुप कागजको कम प्रयोग गर्ने वातावरणका लागि डिजिटलाइजेशनमार्फत कार्यालयमा कामको शुरुवात गर्नुभएको छ । उहाँले काठमाडौँ—तराई/मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार पनि बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई आजकै मितिदेखि हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्